क्यारेवियन प्रिमियर लिग सुरु, ट्रिनिबागो नाइटराइडर्सको विजयी सुरुवात
काठमाडौं। वेष्ट इण्डिजको घरेलु टि–२० लिग क्यारेवियन प्रिमियर लिग आजदेखि सुरु भएको छ। नेपाली समयअनुसार आज बिहान भएको खेलमा ट्रिनिबागो नाइटराइडर्स विजयी भएको छ।
पोर्ट अफ स्पेनमा भएको खेलमा नाइटराइडर्सले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सलाई ११ रनले पराजित गर्दै नयाँ सिजनमा विजयी सुरुवात गरेको छ। १५३ रनको लक्ष्य पछ्याएको प्याट्रिओट्सले १९.४ ओभरमा सबै विकेट गुमाएर १४१ रनमा समेटियो। प्याट्रिओट्सका एविन लुइसले सर्वाधिक ३६ रन बनाए। उनले २७ बल खेलेर २ चौका र ३ छक्का प्रहार गरे। यस्तै फावियन अलेनले ३० रनको योगदान दिए । नाइटराइडर्सको जितमा मोहम्मद हसनान र जिमी निशामले ३–३ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नाइटराइडर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाएको थियो। त्यसका लागि कप्तान काइरन पोलार्डले ४७ रनको पारी खेले। उनले ३२ बलमा ४ चौकमा र ३ छक्का प्रहार गरे। यस्तै दिनेस रामदिन र जिमी निशामले ३३–३३ रन बनाए। प्याट्रिओट्सका सेल्डन कोटरल र रायद इम्रिदले ३–३ विकेट लिए।
सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्स अघिल्लो सिजन सन्दिप लामिछाने आबद्ध टिम हो । तर, यो सिजन भने सन्दिप त्यो टिममा छैनन् । यो सिजन सन्दिप बारबाडोस ट्रिडेन्ट्समा छन् । यो सिजन सन्दिप आबद्ध बारबाडोसको पहिलो खेल सोमबार बिहान पौने ३ बजे गुयना अमेजन वारियर्सविरुद्ध हुँदैछ ।
Facebook Comment