कहाँ पुग्यो नवलको चलचित्र ‘काँडेतार’को तयारी ?

डिसी नेपाल
१९ भदौ २०७६ १३:०८

काठमाडौं। नायक तथा निर्माता नवल खड्का राष्ट्र र राष्ट्रियतामा आधारित चलचित्र बनाउन सक्रिय छन् । उनले बनाएका ‘आवाज’, ‘दशगजा’, ‘भीमदत्त’ लगायतका चलचित्रले नेपाली राष्ट्रियताको कथा वाचन गरेका छन्। उनै नवल नयाँ चलचित्रको तयारीमा छन्।

उनले बनाउन लागेको नयाँ हो, –‘काँडेतार’ । यो चलचित्रले पनि राष्ट्रियताको कथा वाचन गर्नेछ। हुन त यो चलचित्र निर्माणको तयारी थालेको लामै भईसकेको छ।विविध कारणले ढिलाइ भएको चलचित्रको छायांकन चाँडै शुरु गरिने नवल बताउँछन्।

‘प्रि–प्रोडक्सनको ९० प्रतिशत काम सकिएको छ। स्क्रिप्टको काम अन्तिम चरणमा छ। चलचित्रका लागि आवश्यक सबै गीतहरु पनि रेकर्ड भईसकेको छ’ खड्काले डिसी नेपालसंग भने,–‘कलाकार छनोटपश्चात तिहारलगत्तै चलचित्रको छायाँकन शुरु गर्नेछौं।’

शिवम अधिकारी र नवलको लेखन रहेको चलचित्रमा नवल र श्रीराम पुडासैनीको कथा रहनेछ। नेपाली भूमि र नेपाली जनताको सुरक्षाको लागि सिमानामा ब्यवस्थित काँडेतार लगाउँनुपर्छ भन्ने कथामा चलचित्र निर्माण हुने नवल बताउँछन्। ‘यो नेपालको लागि आवश्यक हो  नै, भारतको लागि पनि आवश्यक हुन्छ।’ उनी भन्छन् –‘सिमानामा काँडेतार लगाए मात्र भारतीयबाट नेपालमा हुने धेरै अपराध अन्त्य हुन्छन् ।’

चलचित्रका गीतमा मणि थापा र दिपक शर्माको संगीत तथा राजेश पायल राई, सत्यकला राई र जे.पापीको स्वर रहनेछ। हिमाल केसीको द्धन्द्ध, विष्णु कल्पितको छायांकन रहने चलचित्रको कलाकार छनोट प्रक्रियामा छ।

गहन विषय भएको हुनाले अहिले धेरैले चलचित्र ‘काँडेतार’लाई चासोको रुपमा हेरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *