अफगानिस्तानका अलराउण्डर मोहम्मद नबीले सन्यासको घोषणा गरे

डिसी नेपाल
२० भदौ २०७६ १२:२०

काठमाडौं। अफगानिस्तानका अनुभवी अलराउण्डर मोहम्मद नबीले सन्यासको घोषणा गरेका छन् । बंगलादेशविरुद्ध जारी चटगाँव टेस्टपछि उनले टेस्ट क्रिकेटबाट सन्यास लिँदैछन् । क्रिकबजले अफगानिस्तान टिमका म्यानेजर नाजिक जार अब्दुर्रहिमजाइलाई उद्धृत गर्दै नबीले यो टेस्टपछि सन्यास लिने बताएको छ ।

नबीले आफ्नो एकदिवसीय र टि–२० करिअर लामो बनाउनको लागि यो निर्णय गरेको मानिएको छ । जारी टेस्टसहित ३४ वर्षका नबीले केवल ३ टेस्ट खेलेका छन् । नबी चटगाँव टेस्टको पहिलो इनिङमा शुन्यमै आउट भएका थिए । यसअघि २ टेस्टमा उनले केवल २५ रन बनाएका छन् । उनको नाममा ४ विकेट छन् ।

दायाँहाते ब्याट्सम्यान तथा अफस्पिनर नबी सीमित ओभरको क्रिकेट, खासगरी टि–२० मा एक उत्कृष्ट खेलाडी हुन् । आगामी वर्ष हुने टि–२० विश्वकपमा उनी अफगानिस्तानका प्रमुख खेलाडीमध्येमा पर्नेछन् । आगामी विश्वकप अस्ट्रेलियामा हुँदैछ । अफगानिस्तान आइसीसी विश्व टेस्ट च्याम्पियनशिपको हिस्सा होइन किनकि यो प्रतियोगिता शीर्ष ९ टिमको लागि मात्र हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *