नेपाल बहराइन प्रवेशाज्ञा उन्मुक्ति सम्झौतामा जोड
काठमाडौंं। बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइन अधिराज्यको परराष्ट्र मन्त्रालयका सचिवद्वय डा सैखा राना विन्ट लसा अल खलिफा र डा सैखा अब्दुल्ला बिन अहमद बिन अब्दुल्ला अल खलिफलाई नेपालको राष्ट्रिय दिवसका उपलक्ष्यमा आयोजना हुने कार्यक्रममा मुख्य अतिथिका रुपमा सहभागिताका लागि निमन्त्रणा दिएका छन्।
राजदूत सुन्दासले उनीहरुलाई छुट्टाछुट्टै भेटी निमन्त्रणा दिएको मनामास्थित नेपाली राजदूतावासले जनाएको छ। भेटमा पर्यटन प्रवद्र्धन, व्यापार विस्तार तथा विविधीकरणलगायत अन्य विषयमा छलफल भएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
मङ्गलबार भएको भेटका क्रममा दुवै सचिवले पर्यटन तथा व्यापार प्रवद्र्धन गर्न नेपाल र बहराइनबीच सीधा हवाई सम्पर्क भएमा कोसेढुङ्गा सावित हुने र कूटनीतिक, विशेष तथा आधिकारिक राहदानी वाहकलाई प्रवेशाज्ञा उन्मुक्तिसम्बन्धी सम्झौता हुन सकेमा दुई राष्ट्रको सम्बन्ध कसिलो हुनेमा जोड दिए।
राजदूत सुन्दासले दुई देशबीचको सम्वन्धलाई थप उचाइमा पुर्याउने उद्देश्यले नेपाल बहराइन मैत्री समूहसमेत गठन गरेका छन्।
Facebook Comment