राकेश रोशनका फिल्मको नाम किन ‘के’ अक्षरबाट सुरु हुने मात्र हुन्छन् ? यस्तो छ रोचक कारण

डिसी नेपाल
२१ भदौ २०७६ १२:१०

मुम्बई । बलिउडका चर्चित अभिनेता एवं निर्माता निर्देशक राकेश रोशन ७० बर्षका भएका छन् । शुक्रबार उनले जन्मदिन मनाए । सन् १९४९ को सेप्टेम्बर ६ मा जन्मिएका राकेश रोशन अहिलेका चर्चित फिल्म निर्देशक र निर्माता हुन् । उनले सन् १९७० मा फिल्म घर घर कि कहानी बाट आफ्नो बलिउड यात्रा शुरु गरेका थिए ।

राकेश रोशनले किंग अंकल, करण अर्जुन, कामचोर, कोयेला, कहोना प्यार है देखि कृषका तीन सुपर हिट सिरिज सम्म र पछिल्लो पटक काबिलसम्म फिल्म निर्माण र निर्देशन गरेका छन् । यस अघि कैयौ फिल्ममा अभिनय समेत गरेका राकेशले अहिले कृषको एकै पटक तीन सिरिजमा काम गरिरहेका छन् । जुन २०२०, २०२२ र २०२४ मा रिलिज हुने छन् ।

यति फिल्म बनाउदा र निर्देशन गर्दा राकेश रोशनले अमिताभ बच्चनसँग भने अहिलेसम्म काम गरेका छैनन् । एक अन्तर्वार्ताका क्रममा उनले अमिताभसँग सन् १९९३ मा रिलिज भएको फिल्म किंग अंकलमा काम गर्ने तय भएको थियो । सो फिल्म अमिताभलाई ध्यानमा राखेर नै लेखिएको थियो । अमिताभले पनि सो फिल्ममा काम गर्ने सहमति गरेका थिए । तर पछि आफ्नो निजि कारणले अमिताभले फिल्म क्षेत्रबाट नै ब्रेक लिने निर्णय गरे र राकेश रोशनसँग काम गर्ने अवसर चुक्यो । दुवैबीच अहिले पनि राम्रो सम्बन्ध भएको र कुनै मनमुटाव नरहेको बताइन्छ ।

त्यस्तै राकेश रोशनले बनाउने सबै फिल्मको नाम अंग्रेजी अक्षर ‘के’ बाट शुरु हुने गरेको छ । यसको पछाडी समेत रोचक कहानी रहेको छ । उनले सन् १९८२ मा कामचोर नामक फिल्म बनाएका थिए । फिल्म बक्स अफिसमा सुपर हिट भएको थियो । यस पछि राकेशले सन् १९८४ मा जाग उठा इन्सान बनाए जो फ्लप भयो ।

त्यसपछि सन् १९८६ मा रजनीकान्तलाई लिएर फिल्म भगवान दादा बनाए । जुन फिल्ममा ऋतिक रोशन बालकलाकारको रुपमा पहिलो पटक खेलेका थिए । सो फिल्म रिलिज हुने बेला उनका केहि प्रसंशकले फिल्मको नाम ‘के’ अक्षरबाट राख्न सुझाव दिएका थिए । उनीहरुले कामचोरको सफलतासँग जोड्दै सो फिल्मको नाम ‘के’ अक्षरबाट राख्न सुझाव दिएका थिए । तर राकेशले सो कुरालाई त्यति ध्यान दिएनन् । फिल्म रिलिज भयो र फ्लप पनि भयो ।

त्यसपछि बल्ल राकेश रोशनलाई आफ्ना प्रसंशकहरुको सुझाव याद आयो । त्यसपछि उनले खुदगर्ज बनाए । त्यसको नामको पहिलो अक्षर ‘के’ नै थियो । फिल्म सुपर हिट भयो । यसपछि राकेश रोशनले आफुले निर्माण र निर्देशन गर्ने फिल्मको नाम सधै ‘के’ अक्षरबाट नै राख्दै आएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *