जिग्री–पाँडेसहित पुरानो टिम बाहिरिएपछिको ‘भद्रगोल’लाई दर्शकको चर्को गाली !
काठमाडौं। अर्जुन घिमिरे (पाँडे), कुमार कट्टेल (जिग्री) लगायतको टिम बाहिरिएपछिको ‘भद्रगोल’लाई दर्शकले आलोचना तथा चर्को गाली गरिरहेका छन्।
झण्डै डेढ महिनाको अन्तरालपछि नेपाल टेलिभिजनबाट प्रशारण हुने हाँस्य सिरियल ‘भद्रगोल’ शुक्रबारबाट पुनः प्रशारणमा आयो। तर, ‘भद्रगोल’ अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री) लगायत सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), रक्षा श्रेष्ठ, मधुसुदन पाठक (सितेबा), कमलमणी नेपाल (खुपीका बाउ), गोविन्द कोइराला लगायतका चर्चित पात्र नदेखिएपछि दर्शकले असन्तुष्टि पोखेका हुन्।
ज्योती काफ्ले र अशोक धितालको संयुक्त लेखन/निर्देशन तथा नयाँ कलाकारको अभिनय रहेको ‘भद्रगोल’को शुक्रबारको एपिसोट युट्युबमा हेर्ने दर्शकले आलोचनात्मक प्रतिक्रियाहरु दिएका छन्।
शनिबार दिउँसोसम्म युट्युबमा आएका ८ हजार ६ सय बढी कमेन्टमा अधिकांश कमेन्ट आलोचनात्मक छन्। अधिकांशले पुराना कलाकारहरुको माग गरेका छन्। कतिले नयाँ ‘भद्रगोल’लाई नुन विनाको तरकारी भएको प्रतिक्रिया दिएका छन्।
एक दर्शकले लेखेका छन्, –‘यो भिडियो हेर्न भन्दा त बरु डोजरले खनेको हेर्न मजा आउँछ। हामीलाई पहिलेकै कलाकार राम्रो। जबसम्म पुराना कलाकार आउँदैनन तबसम्म भद्रगोल हेरिँदैन्।’
युट्युबमा मौसम वली नाम गरेका व्यक्तिले लेखेका छन्, –मलाई त मन परेन पहिलाकै टिम जुटाउनु होस्। म नियमित यो भद्रगोल हेर्छु तर मलाई यो भाग मन परेन है। जिग्री, बले, पाँड, कक्रोजहुँदै राम्रो थियो। मलाइ यो भाग हेर्दा भद्रगोल हैन कुनै नयाँ प्रोग्राम जस्तो लाग्यो।’
त्यस्तै थमेश पुन नाम गरेका अर्का दर्शकको प्रतिक्रिया यस्तो छ, –छोरा बिनाको आमा र आमा बिनाको छोरा जस्तै भएन र भद्रगोल? बरू अर्कै शिर्षक, अर्कै मोडेलमा नयाँ कलाकारहरुले खेल्नुपर्ने हो तर यो भद्रगोलमा सुहाएन नयाँ कलाकारको आगमन। भद्रगोलले असल छोरा–छोरीलाई हटायो तर अर्काका छोरा–छोरीलाई अहिले मेरो छोरा–छोरी भनेजस्तै भाछ। लगभग ९० प्रतिशत यसको प्रभाव र दर्शकको मन मरिसकेको छ। कृपया यदि भद्रगोल नै खेल्नु छ भने पुरानै कलाकार ल्याउनु पर्छ हैन भने नयाँ कलाकारले यो भद्रगोल हैन अर्कै शिर्षक मा भूमिका खेल्नुपर्छ। कति नमज्जा लाग्यो।’
जिग्री–पाँडे लगायतको टिमले छोडेसंग नयाँ नेतृत्वमा ‘भद्रगोल’ पुनः प्रशारणमा आएको हो।
‘भद्रगोल’ले छोटो समयमै टेलिभिजन र युट्युबमा राम्रो दर्शक कमाएको थियो। यसका अधिकांश पात्र पनि दर्शकमाझ चर्चित छन्।
तर उनीहरुले ‘भद्रगोल’ छोडेसंगै भने यसका नियमित दर्शकहरु खुसी देखिएका छैनन्।
‘भद्रगोल’को कलाकार समूह र कार्यक्रम उत्पादक मिडिया हबबीच विविध विषयमा कुरा नमिल्दा गत साउनदेखि नयाँ श्रृंखला उत्पादन हुन सकेको थिएन।
मिडिया हवले आफूहरुको पैसा नदिएको कलाकारहरुको गुनासो थियो। साथै सिरियलको कपिराइट अधिकारमा भद्रगोल समुहको दावी थियो। तर, मिडियाहबले पहिलेनै नै भद्रगोलको ट्रेडमार्क आफ्नो नाममा दर्ता गरिसकेको छ।
अन्नतः यी विविध विषयमा पटकपटक छलफलमा कुरा नमिलेपछि निर्देशकद्वय अर्जुन घिमिरे र कुमार कट्टेल सहित डेढ दर्जन बढी कलाकारको समूह ‘भद्रगोल’बाट बाहिरिएको हो।
Facebook Comment