गोल गरेर खुसी मनाउँदै थिए स्पेनका कप्तान, रेफ्रीले नबुझेपछि पहेंलो कार्ड दिए

डिसी नेपाल
२१ भदौ २०७६ १५:४८

काठमाडौं। युरोकप छनोटको खेलमा रेफ्रिले गोल सेलिब्रेसन नबुझ्दा स्पेनका डिफेन्डर सर्जियो रामोसले पहेँलो कार्ड पाएका छन्। रोमानियालाई २-१ ले हराएको खेलमा २९ औँ मिनेटमा रामोसले पेनाल्टीमार्फत गोल गरेका थिए। लगत्तै उनले गोलको खुसी मनाउन दुवै हात आँखानेर लगेर गोलो पारी चस्माको आकार बनाएका थिए। त्यसमा गलत सन्देश दिन खोजिएको भन्दै रेफ्रिले उनलाई पहेँलो कार्ड दिए।

‘गलत अर्थ बुझ्दा पहेँलो कार्ड देखाइयो। मैले मेरो भतिजका लागि त्यस्तो सेलिब्रेसन गरेको थिएँ। हामी दुवै चस्मा लगाउँछौँ त्यसैले चस्माको आकार बनाएको थिएँ, तर रेफ्रिले दर्शकलाई केही नराम्रो गरेको जस्तो बुझेछन्’ खेलपछि रामोसले भने। २९ औँ मिनेटमा रामोसको गोलबाट अग्रता बनाएको स्पेनका लागि ४७ औँ मिनेटमा पाको अलकासरले पनि गोल गरेका थिए।

दुई गोलले अघि रहेको अवस्थामा पनि स्पेनको खेल पछिल्लो हाफमा खस्किएको थियो। रोमानियाका लागि ५९ औँ मिनेटमा फ्लोरिन एन्डनले गोल गरे। स्पेनका डिएगो लोरेन्टे रातो कार्ड पाएर बाहिरिएपछि स्पेन थप दबाबमा परेको थियो। १० खेलाडीमा सीमित स्पेनका लागि गोलकिपर केपा एरिजाबालागाले उत्कृष्ट बचाउ गरेका थिए।

स्पेनका प्रशिक्षक लुइस इनरिकले पारीवारिक कारण पदबाट राजीनामा दिएपछि प्रशिक्षक बनेका रोबर्ट मोरेनोको पहिलो खेलमा स्पेनले जित निकाल्न सकेको हो। गएको हप्ता इनरिककी ९ वर्षकी छोरी जानाको निधन भएको थियो। त्यसैको सम्झनामा खेलअघि एक मिनेटको मौन धारण पनि गरिएको थियो।

खेलमा स्पेनले ७४ प्रतिशत समय बलमा नियन्त्रण बनाएको थियो। स्पेनले २१ सट पोस्टमा प्रहार गरेको थियो भने रोमानियाले १० सट मात्रै प्रहार गर्न सक्यो। ‘युरो कप छनोटको समूह ‘एफ’ मा रहेको स्पेन अहिलेसम्म खेलेका पाँचै खेल जितेर शीर्ष स्थानमा रहेको छ। छैठौँ खेल स्पेनले सोमबार फारोए आइसल्याण्डसँग खेल्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *