चिनियाँ विदेशमन्त्री वाङ भोली नेपाल आउँदै

डिसी नेपाल
२१ भदौ २०७६ १५:५२

काठमाडौं। चिनियाँ विदेशमन्त्री वाङ यी आईतबार (भोली) नेपाल भ्रमणमा आउने भएका छन्।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले चिनियाँ समकक्षी वाङ आफ्नो निमन्त्रणामा भोलीबाट नेपालको तीन दिने औचारिक भ्रमणमा आउन लागेको जानकारी गराएका हुन्। भ्रमणका क्रममा उनले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा विभिन्न राजनीतिक दलका शिर्ष नेतृत्वसँग पनि शिष्टाचार भेटवार्ता गर्नेछन्।

भेटमा दुई मुलुकका परराष्ट्रमन्त्री स्तरीय प्रतिनिधिमण्डलसँग द्धिपक्षीय हितका विविध विषयमा छलफल हुने पनि परराष्ट्रमन्त्री ज्ञवालीले बताए। उनले चीनको विकासबाट नेपालले बढि भन्दा बढि लाभ लिने गरी चिनियाँ प्रतिनिधिमण्डलसँग छलफल केन्द्रित गर्ने नेपाल सरकारको योजना पनि बताए।

छलफलमा विगतमा गरिएका रेल सेवा संचालन, पारवहन सम्झौताको कार्यान्वयनका विषयलाई पनि जोड दिन लागिएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ।

भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल भ्रमण गरेको दुइ हप्ता नबित्दै चीनका विदेशमन्त्री वाङले पनि नेपालको औपचारिक भ्रमण गर्न लागेका हुन्।

चिनियाँ विदेशमन्त्री वाङको सो भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणको तयारीको रुपमा पनि हेरिएको छ। परराष्ट्रमन्त्री ज्ञवालीले पनि चिनियाँ राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने तय भएपनि समय भने निश्चित नभएको स्पष्ट पारे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *