नेपाली क्रिकेटमाथिको प्रतिबन्ध फुकुवा हुने आशा, क्यानको निर्वाचन असोज पहिलो साता

डिसी नेपाल
२२ भदौ २०७६ १६:१९

काठमाडौं। नेपाल क्रिकेट संघ(क्यान)को केन्द्रीय निर्वाचन आगामी असोज ३ र ४ गते हुने भएको छ। आइसीसीले गठन गरेको अनुगमन समितिका सदस्य तथा कानुनी सल्लाहकार राजेश्वर श्रेष्ठका अनुसार प्रादेशिक चुनाव सकिएसँगै केन्द्रीय चुनाव असोज ३–४ गते गर्ने छलफल अन्तिम चरणमा रहेको छ।

शनिबार हेटौडामा भएको प्रदेश ३ को प्रादेशिक चुनाव भएसँगै सम्पूर्ण प्रदेशको चुनाव सकिएको थियो। प्रदेश ३ को अध्यक्षमा राजु बस्न्यात नियुक्त भएका थिए।

यसअघि हरि रेग्मीको अध्यक्षतामा सुदूरपश्चिम, हरि भगतको अध्यक्षतामा प्रदेश २, देवेन्द्र प्रजुको अध्यक्षतामा गण्डकी, मिङ्मा डेन्डु शेर्पाको अध्यक्षतामा प्रदेश १ र दुर्गा थापामगरको अध्यक्षतामा प्रदेश ५ र ६ को चुनाव भइसकेको छ।

क्यानको केन्द्रीय कार्यसमिति १७ सदस्यीय हुनेछ। जसमा अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष तथा १३ सदस्य चयन हुनेछन्। उनीहरुको कार्यकाल ४ वर्षीय हुनेछ।

क्यानको मतदाता भने ५९ सदस्य हुनेछन्। श्रेष्ठका अनुसार जिल्लाबाट १–१ जना प्रतिनिधि र प्रदेशमा दुई जिल्ला बराबर एक जना प्रतिनिधि हुनेछन्।

आइसीसीले २०७३ बैशाखमा क्यानलाई निलम्बन गरेको थियो। क्यानको केन्द्रीय चुनावपछि अक्टोबरमा बस्ने आइसीसी बैठकले क्यान निलम्बन फुकुवा गर्ने विश्वास गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *