पूर्व धरानदेखि पश्चिम दार्चुलासम्म डेंगुको संक्रमण

काठमाडौं। महामारीको रुपमा फैलिएको सरुवा रोग डेंगुको चपेटामा सर्वसाधारणदेखि भीआईपीसम्म पर्न थालेका छन्। मन्त्री, चित्सिक र नेतादेखि सर्वसाधारणमा डेंगुको संक्रमण देखिएको छ। कृषिमन्त्री चक्रपाणी खनाल डेंगुको उपचारपछि सोमबार डिस्चार्ज भएका छन् भने काँग्रेस नेता गण्डगी प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडीको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।

यस्तै वरिष्ठ आँखा रोग विशषेज्ञ डा. सन्दुक रुइतसहित उनका परिवारका तीनजना सदस्यमा डेंगुको संक्रमण देखिएको छ। उता शुक्रराज टर्पिकल सरुवा रोग अस्पतालका चिकित्सक र नर्सहरुमा पनि डेंगुको संक्रमण देखिएको छ।
अस्पतालका शाखा अधिकृत रुपनारायण खतिवडाले अस्पतालका १२ जना चिकित्सकमा डेंगुको संक्रमण देखिएको बताए। उनले अझै ६ जना उपचारमै रहेको बताए। ६ जना भने काममा फर्किसकेका छन्।

यो वर्षको शुरुमा पूर्वी नेपालको धरानमा देखा परेको डेंगु हाल पश्चिम नेपालको दार्चुलामासमेत देखा परिसकेको छ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार सोमबारसम्म यो रोग देशका विभिन्न ५२ जिल्लामा डेंगुको संक्रमण देखिएको छ। सोमबारसम्म यो रोगका कारण कम्तिमा ६ जनाको मृत्यु भएको छ भने करिब ४ हजार मानिसमा डेंगुको संक्रमण देखा परेको छ।
देशको राजधानी काठमाडौंमा पनि डेंगुका विरामी बढेका छन्। शुक्रराज टर्पिकल सरुवा रोग अस्पतालले धान्न नसकेपछि विर अस्पतालबाट पनि डेंगुको उपचार शुरु भएको छ। तराईका जिल्लामा मात्र देखिने डेंगु यो वर्ष पहाडी जिल्लाहरुमा पनि देखिएको छ।

डेंगु नियन्त्रणका लागि भन्दै काठमाडौं महानगरपालिकाले विभिन्न वडामा फगर मेसिनबाट लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान चलाएको छ। गएको वैशाखमा सुरसरीको धरानमा देखिएको डेंगु सोमबारसम्म आइपुग्दा पश्चिमको दार्चुला र गण्डगी प्रदेशको हिमाली जिल्ला मनाङसम्म देखिएको समाचारहरु आएका छन्।
रोग नियन्त्रणका लागि सरकारले उचित कदम चाल्न नसकेको भन्दै आलोचना भइरहेको छ। रोग नियन्त्रण महाशाखाले भने उपचारसँगै जनचेतनाका कार्यक्रम पनि शिघ्र अगाडि बढाउनुपर्ने जनाएको छ।
Facebook Comment