विश्वकप छनोटः ताईपेइसँग भिड्दै नेपाल, अंक जोड्ने लक्ष्य

डिसी नेपाल
२४ भदौ २०७६ ७:१०

काठमाडौं । विश्वकप छनोट अन्तर्गत नेपालको राष्ट्रिय फुटबल टिमले आज चाईनिज ताईपेइसँग प्रतिस्पर्धा गर्दैछ । समुह चरणको दोस्रो खेलमा नेपालले तुलनात्मक रुपमा सहज मानिएको प्रतिद्वन्दी ताईपेइसँग खेल्न लागेको हो ।

पहिलो खेलमा कुवेतसंग ७–० को लज्जास्पद पराजय भोगेको नेपाललाई लयमा आउन ताइपेइविरुद्वको खेल महत्वपुर्ण छ । नेपालले गत जेठमा भएको मैत्रीपूर्ण खेलमा ताईपेसग १–१ गोलको बराबरी खेलेको थियो ।

सोही कारण विश्वकप छनोटको दोस्रो खेलमा मैदान उत्रदै गर्दा नेपाल कम्तिमा सोही नतिजा दोह¥याउने लक्ष्यमा हुनेछ । नेपाली टिमका मुख्य प्रशिक्षक योहान कालिनले समेत प्रष्ट रुपमा गत जेठमा गरेको प्रर्दशनलाई निरन्तरता दिने योजनामा आफुहरु रहेको बताएका छन् ।

फिफा वरियतामा नेपाल भन्दा ताईपेइ माथि छ । चाईनिज ताईपेइ वरियताको १ सय २५ औ स्थानमा छ । नेपाल १ सय ६६ औ स्थानमा छ । तर ताइपेइको मैदानमा अंक जोड्ने लक्ष्य नेपालले लिएको छ ।

खेलको पूर्व सन्ध्या प्रशिक्षक कालिनले भने, ‘हाम्रो लागि अघिल्लो खेल निराशाजनक रह्यो । हामीले सबै गोल आफ्नै गल्तीले खायौँ। हामीले कुवेतविरुद्ध खराब फुटबल खेलेका थियौँ तर हाम्रो मुख्य लक्ष्य लयमा फर्कनु हुनेछ । हामीलाई थाहा छ गल्ती कहाँ रह्यो ।’

कालिन नेतृत्वको नेपाली टिमले विश्वकप छनोट अघि कुवेतसंगको मैत्रीपूर्ण खेलमा राम्रो नतिजा निकालेको थियो । पहिलो खेल गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेल पेनाल्टीमा १–० ले गुमाएको थियो ।

तर विश्वकप छनोटमा कुवेतसंग ७–० को लज्जास्पद हार नेपालले ब्यहोर्यो । ‘ताइपेइ राम्रो टिम हो । उनीहरुलाई कमजोर आँकलन गर्नु गल्ती हुनेछ । यो टिम कुवेतजत्तिकै राम्रो छ ।’ कालिनले भने, ‘हालै कुवेतले हङकङलाई हराएको थियो । हामीले खेलका लागि योजना बनाईसकेका छौँ ।’

घरेलु टोली र नेपालबीचको खेल ताइपेइ स्टेडियममा अपरान्ह ४ बजेर ५५ मिनेटमा सुरु हुनेछ । नेपाली टिमका कप्तान किरण चेम्जोङ समेत ताइपेइविरुद्व खेलका लागि आफुहरु खेल्न तयार रहेको बताएका छन् । उनले राम्रो तयारी गर्न नपाएपनि घरेलु टोलीविरुद्व मैदान उत्रन आफुहरु आतुर रहेको उल्लेख गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *