‘मीटू’को आरोप लागेका निर्देशकसँग काम गर्दै आमिर, फ्यानले गरे आलोचना

डिसी नेपाल
२४ भदौ २०७६ १४:०९

एजेन्सी। बलिउड अभिनेता आमिर खान अलग विषयवस्तुका फिल्म छनोटका लागि परिचित छन् । सामाजिक, शैक्षिक मुद्दा तथा अलग विषयका फिल्म उनको रोजाइमा पर्छन् । तिनै गम्भीर विषयवस्तुले आमिरको स्टारडमबाट व्यावसायिकता र चर्चा पाउँछन् ।

तर यस पटक आमिर चर्चामा आउनुको कारण फिल्म होइन, यसका निर्देशक हुन् । आमिरले दिवंगत फिल्म निर्माता गुलशन कुमार (सन् १९५६–१९९७) को बायोपिक फिल्म ‘मोगुल’ मा काम गर्ने भएका छन् । तर यस फिल्मका निर्देशक सुभाष कपुरका कारण आमिर समाचारको विषय बन्न थालेका छन् । कारण, सन् २०१८ मा चलेको यौन उत्पीडन विरुद्धको मीटू अभियानमा सुभाषको नाम पनि मुछिएको थियो ।

२०१८ अक्टोबरमा आमिर र उनकी पत्नी किरण रावले संयुक्त विज्ञप्ति जारी गर्दै ‘मोगुल’ फिल्मबाट अलग भएको घोषणा गरेका थिए । विज्ञप्तिमा यौन उत्पीडनको आरोप लागेका कुनै पनि व्यक्तिसँग काम नगर्ने उल्लेख थियो । फिल्म ‘मोगुल’ टी सिरिज कम्पनीसँग मिलेर आमिर र किरणले निर्माण गर्न लागेका थिए ।

त्यतिवेला विज्ञप्तिमा सुभाष कपुरको नाम भने लेखिएको थिएन । आमिर दम्पतीले विज्ञप्तिमा लेखेका थिए, ‘हामीलाई कुनै पनि प्रकारको यौन उत्पीडन स्वीकार्य छैन । हामी यस्ता घटनाको कडा निन्दा गर्छौं । हामी कसैप्रति आक्षेप लगाइरहेका छैनौं र आरोपको सत्यतथ्य आउनु अगाडि नै फिल्मबाट अलग भएका छौं ।’

तर पछि जब ‘मोगुल‘ बाट सुभाष अलग भए, आमिर फेरि फिल्ममा फर्किएका थिए । अहिले फेरि सुभाष फिल्ममा जोडिएपछि आमिरले अर्को विज्ञप्ति सञ्चारमाध्यममा जारी गरेका छन् । आमिरका अनुसार पहिले ‘मोगुल’ फिल्मबाट अलग हुने निर्णय गर्दा उनी कैयौं रात निदाउन सकेनन् । किनकि, आफूबाट अञ्जानमा भएको कामबाट एउटा व्यक्तिको रोजीरोटी गुमेको र सुभाष अझै पनि कानूनी प्रक्रियाबाट गुज्रिरहेको उनले बताएका छन्।

आमिरले आफूलाई इन्डियन फिल्म एन्ड टेलिभिजन डाइरेक्टर्स एशोसिएसनबाट एक पत्र आएको र त्यसमा सुभाषलाई अहिलेसम्म अदालतले दोषी नबताएको उल्लेख गरिएको बताएका छन् । आमिरले उक्त पत्रको जवाफ दिंदै आफू ‘मोगुल’ मा सुभाषसँग काम गर्नेमा सकारात्मक रहेको बताएका हुन् । न्यायालयले दोषी किटान नगरेका कारण सुभाषको काम गर्ने र कमाउने हक गुम्न नहुने आमिरको भनाइ छ ।

सुभाषमाथि सन् २०१४ फेब्रुअरीमा अभिनेत्री गीतिका त्यागीले उत्पीडनको आरोप लगाएकी थिइन् । गीतिकाका अनुसार, एक पार्टीका क्रममा सुभाषले आफूलाई एउटा कोठामा लगेर जबर्जस्ती गर्न खोजेका थिए । उक्त घटनामा सुभाष विरुद्ध उजुरी दर्ता भएपछि उनी पक्राउ पनि परेका थिए । तर पछि जमानतमा रिहा भएका थिए । सुभाषले ‘फस गया रे ओबामा’ (२०१०), ‘जोली एलएलबी’ (२०१३), ‘जोली एलएलबी २’ (२०१७) लगायत फिल्म निर्देशन गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *