रुग्ण अवस्थाका महोत्तरी कारागारमा चार गुणा बढी कैदीबन्दीः बिरामी हुने क्रम बढ्दो
महोत्तरी। महोत्तरी कारागारमा रहेका कैदीबन्दीको सङ्ख्या अहिलेसम्मकै सर्वाधिक भएको छ। पछिल्ला पाँच वर्षयता ३५० को हाराहारीमा रहँदै आएको कैदीबन्दीको सङ्ख्या अहिले ५०० पुगेको हो। कारागारको १६३ वर्षको इतिहासमा कैदीबन्दीको यो सङ्ख्या अहिलेसम्मकै सर्वाधिक भएको कारागार प्रशासनले जनाएको छ।
जम्मा १३५ कैदीबन्दी राख्ने क्षमताको कारागारमा अहिले पुरुष कक्षमा ४५१ र महिला कक्षमा चार आश्रित बालबालिकासहित ४९ कैदीबन्दी छन्। यसअघि विसं २०३५/३६, २०४६/४७ र २०६२/६३ को ऐतिहासिक आन्दोलनमा व्यापक राजबन्दी राखिएको बाहिरी चर्चा सुनिए पनि त्यसताका ३०० कैदीबन्दीको सङ्ख्या नबढेको कारागार अभिलेखले देखाएको छ।
तर, अहिले कुनै राजनीतिक वा सामाजिक उथलपुथल नभएको सामान्य अवस्थामै कैदीबन्दीको सङ्ख्या ५०० पुगेको हो। क्षमताभन्दा झण्डै चौबर बढी सङ्ख्याका कैदीबन्दी राख्नु पर्दा सुत्ने, बस्ने, खाना पकाउने र सामान्य व्यायाम गर्ने ठाउँको व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने गरेकोे कारागार प्रमुख कन्हैयाकुमार मिश्रले बताए।
उनको प्रश्न थियो, “अब भन्नुस्, १३५ राख्ने ठाउँमा ५०० राख्नु परेपछि के हालत होला। ?” “सधैँ कोलाहल नै हुन्छ”, कारागार प्रमुख मिश्रले भने, “विगतमा महोत्तरी र धनुषा जिल्लाको संयुक्त कारागार भए पनि पछिल्लो समयमा सर्लाही जिल्लाका न्यायिक कार्यालयले पनि कैदीबन्दी यहीँ पठाउँदा सङ्ख्या निकै बढेको छ।” कारागारमा सबैभन्दा बढी कैदीबन्दी धनुषा जिल्लाका छन्।
कारागारमा थुनुवाको सङ्ख्या ६५ प्रतिशतभन्दा माथि छ । समयमै मुद्दा छिनोफानो हुन नसक्दा थुनुवाको सङ्ख्या बढेको कारागार प्रशासनको ठम्याइ छ। दिनहुँ कारागारमा थपिने थुनुवा नै हुने गरेका छन्। कैदी त कारागारमै छँदा मुद्दा फैसला भएका वा देवानी (लेनदेनसहित) मुद्दाका केहीमात्र आउने गरेका कारागारका सूचना अधिकारी मकसुधन महासेठको भनइ छ।
“फौजदारी मुद्दाका कैदी धेरैजसो पहिलेदेखि नै पुर्पक्ष थुनामै रहेका हुन्छन्, फैसला भएपछि कैदी बन्ने हुन्”, सूचना अधिकारी महासेठले भने, “अन्य कारागारबाट सरुवा भई आउने र देवानी मुद्दाका मात्र केही कैदी बाहिरबाट आउँछन् ।” न्यायिक निकायमा मुद्दा चाँडै किनारा लाग्नसके थुनुवाको सङ्ख्या घट्ने उहाँको बुझाइ छ।
कारागारमा कैदीबन्दीको चापले बस्न, सुत्नसँगै खानपिन र दैनिक नित्यकर्म ठिक समयमा हुन नसक्दा बिरामी हुने क्रम बढेको छ । जीउभरि खटिरा आउने, जीउ चिलाउने र लुतो आफूहरुको (कारागारका कैदीबन्दीको) साझा रोग नै बनेको पुरुष कक्षका एक कैदीले बताए।
“न राम्ररी सुत्ने ठाउँ छ हजुर, न ठिक समयमा दिसा पिसाव र न्वाइध्वाइ गर्न पाइन्छ”, ती कैदीले बिरक्तिदै भने, “नापेको चार हातमा गुडुल्किएर रात काट्नुपर्छ, रातभरि ऐयाआथुको कोलाहल हुन्छ, कतिखेर निदाउनु?” । छालाको समस्याबाहेक श्वासप्रश्वास (बोलीचालीमा दम्मा) र खोकी पनि कारागारभित्रको आम स्वास्थ्य समस्या रहेको कारागारका स्वास्थ्यकर्मीे नै स्वीकार गर्छन्। भर्खरै केही दिन पहिले मात्र भाइरल ज्वरोले १०० भन्दा बढी कैदीबन्दी बिरामी भएका थिए।
कारागारमा ठाउँको अभावसँगै सीमित शौचालय र धारामात्र हुँँदा दिसापिसाप गर्न, नुहाउन र लुगा धुन घण्टौँ पालो कुर्नुपर्ने एवं सुत्न बस्न नै ठाउँ नपाइँदा आफूहरुलाई निकै गाह्रो भइरहेको कैदीबन्दीको गुनासो छ।
नियमित सरसफाइ गर्न नपाइएर नापेर दिएको चार हात जमीन (लम्बाइ) मा खाँदिएर बस्न सुत्न पर्दा निकै सकस परेको आम कैदीबन्दी बताउँछन्। श्वासप्रश्वास, खोकी, निमोनिया र चर्मरोगका बिरामीको उपचार राम्रो नहुँदा आफूहरुलाई बिरामी बनाउन नै कारागार ल्याइएको लाग्न थालेको नाम बताउन नचाहने पुरुषकक्षका अर्का एक थुनुवाले टिप्पणी गरे।
कारागारमा कैदी/थुनुवाका लागि जाडो र गर्मी मौसममा गरी दुईपटक मौसमअनुसारको लुगा दिइने कानूनी व्यवस्था भए पनि यहाँ कहिल्यै ठिक समयमा यो सुविधा नपाइएको कैदीबन्दीको भनाइ छ। कारागार प्रमुख मिश्रले पनि कैदीबन्दीको यो गुनासो स्वीकार गरेका छन्।
“कारागारमा दिनहुँ कैदीबन्दीचाहिँ आइरहन्छन्”, प्रमुख मिश्रले भने, “तर, कैदीबन्दी थपिएको अनुपातमा मौसमअनुसारका लुगा र उपचार खर्च भने ठिक समयमा कहिल्यै आउँदैन, कैदीबन्दीको कोपभाजनमा कारागार प्रशासन पर्छ।”
कारागारको महिलाकक्षमा एक/एक धारा र शौचालय मात्र छ। यस कक्षका ४९ ले पालो मिलाएर दिसा–पिसाव र न्वाइध्वाइ गर्नुपर्छ। त्यसैगरी पुरुष कक्षमा आठ शौचालय र धारा भए पनि सबै सधैँ प्रयोगमा हुँदैनन्। दिसापिसाव गर्न घण्टौँ पालो कुर्नुपर्ने समस्याले नै बिरामी बढ्ने पुरुष कक्षका एक पाका कैदीले गुनासो गरेका छन्।
“के गर्नु हजुर…! नुहाउन नपा’को कति दिन भइसक्यो” करीब ६० वर्ष उमेरका ती कैदीले आफ्नो लुङ्गी उचाल्दै घाउ/खटिरा देखाउँदै भने, “आफैँले किनेको साबुन लाएर नुहाउन पाउने दिन पनि हाम्रा लागि त तीर्थ नै हुनेभो।”
कारागारको यो अवस्था अन्त्य गर्न क्षमताभन्दा बढीका कैदीबन्दी अन्यत्र लान र कारागारमा भौतिक व्यवस्थापन जुटाउन स्थानीय प्रशासन र कारागार व्यवस्था विभागमा कैयौँपटक आग्रह गरिए पनि थपिने मात्र गरेको कारागार प्रशासनले जनाएको छ।
विसं १९१३ मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले निर्माण गराएका यो कारागार त्यसयता मर्मतसम्भार हुन नसक्दा दिनहुँ पर्खाल र छत उप्केर झरिरहेको छ। अन्य समस्यासँगै पुरानो भवनको पर्खालका इँटा झर्ने र छतका सिमेन्टको टुक्रा उप्केर झर्दा किचिएर, थिचिएर मरिने पो हो कि भन्ने डरले समेत सताउने गरेको आम कैदीबन्दी बताउँछन्।
सदरमुकाम जलेश्वरको गहिरो ठाउँमा रहेको कारागारमा सामान्य वर्षामै कैदीबन्दीको बिचल्ली हुने गरेको छ । गत असार मसान्तताकाको बाढी डुबानले १५ दिनसम्म उभिएरै दिन काट्नुपरेको कैदीबन्दी सम्झन्छन् ।
कारागारमा नगरभरिको सोहोरिएर आएको हिलो दुर्गन्धित फोहर १५ दिनसम्म नसुक्दा सातु, चाउचाउ र भुजाजस्ता तयारी खानेकुरा नै खाएर बिताइएको कैदीबन्दीको भनाइ छ । प्रत्येक वर्ष बर्खाकालमा यस्तो बिजोग काट्नु परेपनि कारागार परिसरमा थुप्रिने नगरको फोहर निकासको स्थायी समुचित व्यवस्था भने भएको छैन ।
सामान्यतया कारागारलाई सुधारगृह भनिने गरिए पनि महोत्तरी कारागार भने यातनागृह बनेको मानअधिकारकर्मी टिप्पणी गर्छन् । कानूनअनुसार थुना वा कैद बस्ने कुरा स्वभाविक भए पनि यहाँ ल्याइसकेपछि मानवोचित बसोबास, खानपिन र उपचार ठिक तरिकाले पाउनु कैदीबन्दीको अधिकार भएको मानवअधिकारवादी संस्था इन्सेकका जिल्ला प्रतिनिधि अजय साह बताउनुहुन्छ ।
राज्यका जिम्मेवार निकायले यसको तत्काल सम्बोधन गर्नपर्ने जिल्लाका सञ्चारसम्बद्ध र मानवअधिकारसम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिले ध्यानाकर्षण गराएका छन् ।
Facebook Comment