सुदूरपश्चिमको ठूलो र प्रतिष्ठित सौन्दर्य एवं कला प्रतियोगीता ‘मिस फारवेष्ट’को दोस्रो संस्करण हुँदै

डिसी नेपाल
२६ भदौ २०७६ १६:४०

काठमाडौं। ‘मिस फारवेष्ट नेपाल’को दोस्रो संस्करण हुने भएको छ।

जसको लागि आवेदन फारम भर्न सुरु गरिएको आयोजक रोयल कोलावोरेटिभ्स प्रा.लि.ले जनाएको छ।

‘मिस फारवेष्ट नेपाल’ सुदूरपश्चिमको सबैभन्दा ठूलो र प्रतिष्ठित सौन्दर्य एवम् कला प्रतियोगीता भएको आयोजकको दाबी छ। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन मार्फत दोस्रो संस्करणबारे जानकारी गराइएको हो।

नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेको कार्यक्रमले सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रि स्तरमा प्रचार–प्रसार गरेर पर्यटकीय गतिविधि बढाई नेपाल भ्रमण वर्ष २०२० लाई पनि सघाउने उद्देश्य रहेको आयोजक रोयल कोलावोरेटिभ्सका अध्यक्ष गजेन्द्र विक्रम शाहीले जानकारी बताए।

गत वर्षबाट सुरु भएको ‘मिस फारवेष्ट नेपाल’को दोस्रो संस्करणका लागि महेन्द्रनगर, टीकापुर र धनगढीमा क्रमशः असोज ३,४ र ५ गते अडिसन हुनेछ। अडिसनबाट छनोट भएका प्रतियोगीलाई असोज ७ गतेबाट एक महिने ब्यक्तित्व विकास सम्बन्धी तालिम दिइनेछ। उक्त तालिम कोरियोग्राफर जेनिशा तामाङ्गले प्रदान गर्नेछिन्।

अन्तिम तालिममा सहभागी गराउन अडिसनमार्फत २७ जनालाई छनोट गरिनेछ। यसको फाइनल कात्तिक ७ गते हुनेछ। यस प्रतियोगिताको निर्णायक मण्डलमा पूर्व मिस नेपाल सुगारिका केसी, मिस नेपाल आयोजक संस्था हिडन ट्रेजरका प्रमुख गोपाल कक्षपति, नमुना कलेज अफ फेसन टेक्नोलोजीकी प्रमुख ज्ञानी शोभा तुलाधार र चलचित्र निर्माता सरोज न्यौपान रहेका छन्।

यस प्रतियोगितामा प्रथम हुनेले एक थान स्कुटर साथै क्राउन, दोस्रो हुनेले नगद ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुस्कार पाउनेछन्। अन्य थुप्रै क्षेत्रमा अवसर प्राप्त गर्ने अध्यक्ष शाहीको भनाइ छ। यसैगरी विभिन्न १० वटा विधामा उत्कृष्ट हुनेले गिफ्ट ह्याम्परसँगै विधागत उपाधी प्राप्त गर्नेछन्। राज्यबाट सधैउपेक्षित क्षेत्रका रूपमा चिनिने सुदूरपश्चिम र सोहीअनुरूप हेरिने यस क्षेत्रका महिलाको व्यक्तित्व विकास तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्य यस प्रतियोगिताले लिएको छ।

रोयल कोलावोरेटिभ्स प्रा.लि. धनगढीका समाजसेवी युवा अभियान्ताका समूहले सञ्चालन गरेको संस्था हो। यस संस्थाले यस कार्यक्रम बाहेक विभिन्न सामाजिक कार्यमा समेत आफ्नो अभियान चलाउँदै आएको छ।संस्थाले सुदूरपश्चिमकै पहिलो कपडा बैंकका रूपमा धनगढीमा कपडा बैंकको स्थापना गरेको छ। जहाँबाट गरिब, असहायलाई राहत भइरहेको छ। र सो कार्यलाई अहिले धनगढी उपमहानरपालिकाले पनि सघाइरहेको अध्यक्ष शाहीको भनाई छ।

यस संस्थाले ‘मिस फारवेष्ट’ कार्यक्रमबाट प्राप्त मुनाफाले धनगढीस्थित अत्यन्त असहाय एकल दलित महिलाको ६ सदस्यीय परिवारलाई वर्षभरिको रासन सामग्री उपलब्ध गराउँदै आएको छ भने विभिन्न समयमा अनाथ आश्रम, असहाय घर, महिला आश्रम, सहारा घरलाई सहयोग गर्दै आएको छ। पहिलो संस्करणको मोनिका गुरुङले उपाधी जितेकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *