इण्डो–प्यासेफिक र बीआरआईबारे नीतिमा परिवर्तन आएको छैन : सञ्चारमन्त्री

डिसी नेपाल
२६ भदौ २०७६ १७:०९

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले आपसी हितका बारेमा सचेत भएर छिमेकी र अन्य मित्रराष्ट्रसंग व्यवहार गर्ने बताएका छन्।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले नेपालले स्वतन्त्र मुलुकको हैसियतमा छिमेकी राष्ट्र र अन्य मित्र राष्ट्रसंग व्यवहार गर्ने बताए।

इण्डो–प्यासेफिकका सम्बन्धमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दिएको सार्वजनिक अभिव्यक्ति र त्यसमा अमेरिकी सरकारले नेपाल सरकारको धारणा मागेको सन्र्दभमा पत्रकारहरुले राखेको जिज्ञासामा मन्त्री बाँस्कोटाले नेपाल सरकारको पूर्ववत मान्यतामा कुनै पनि परिर्वतन वा विचलन नआएको स्पष्ट पारे। अमेरिकी नेतृत्वमा प्यासेफिक मुलुकको सैन्य गठबन्धन बन्ने चर्चा छ, यसै अन्तरगत रहेर अमेरिकाले आफ्नो वैदेशिक नीति सञ्चालन गर्ने बताएको छ जसलाई इण्डो–प्यासेफिक भनिन्छ ।

यस्तै चीनले पूरा विश्वलाई जोड्न बेल्ट एण्ड रोड इनिसियटिभ परियोजना शुरु गरेको छ। यलाई नयाँ शिल्क मार्ग पनि भनिएको छ, जसलाई छोटकरीमा बीआरआई भनिन्छ। नेपाल बीआरआईमा सहभागी छ भने इण्डो–प्यासेफिकमा सहभागी नहुने बताउँदै आएको छ।

उनले भने, “इण्डो–प्यासेफिकका बारेमा वा बीआरआईका सम्बन्धमा, स्वतन्त्र मुलुकको हैसियतमा हामी हाम्रा छिमेकी राष्ट्र र अन्य मित्रराष्ट्रहरुसंग आपसी हितबारे सचेत भएरै व्यवहार गर्छौ र गर्दे आएका छौं । पूर्ववतत् मान्यतामा कुनै पनि विचलन आएको छैन र परिर्वतन आएको छैन ।”

उनले डेंगु संक्रमण नियन्त्रण बाहिर नभएको दावी गर्दै नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील रहेको स्पष्ट पारे। बैशाखदेखि देखिएको डेंगु संक्रमण नियन्त्रणका लागि सरकारी तथा गैह्रसरकारी, सर्वसाधरण लगायत सबै क्षेत्रबाट पहल हुँदै भन्दै उनले नियन्त्रण बाहिर नभएको तर धेरै दुख दिएको डेंगु संक्रमणप्रति सरकार सचेत रहेको बताए।

विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनले विश्वभर ३९÷ ४० करोड मानिस डेंगु प्रभावित बनेको तथा ३ अर्ब मानिसहरु संक्रमणको जोखिममा रहेको देखाएको उल्लेख गर्दे उनले यसको नियन्त्रण सरकारको एक्लो प्रयासले संभव नहुने बताए।

उनले फिल्महलमा राष्ट्रियगान बजाउने भन्ने विषय आफ्नै मन्त्रालय मातहतको भएपनि आफुले पनि सुनेको मात्रै प्रतिक्रिया दिए। उनले भने, “फिल्महलमा राष्ट्रियगान बजाउने कुरा मैले पनि सुनिरहेको छु । मलाई चाहीँ थाहा भएन । हावा नचलि पनि पातहरु हल्लिएको देखेर कुन युग हो भनेर प्रश्न गर्न मन लागेको छ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *