नादेझ्दा कप फुटबलः नेपाल उपविजेता

डिसी नेपाल
२६ भदौ २०७६ १८:४५

काठमाडौं । किर्गीस्तानले आयोजना गरेको नादेझ्दा कप फुटबलमा नेपाल उपविजेता बनेको छ । बिहीबार भएको फाइनलमा बलियो टिम उज्वेकिस्तानसँग ३–२ गोल अन्तरले पराजित हुँदै नेपाल उपविजेता बनेको हो ।

काराकोलस्थित सेन्ट्रल स्टेडियममा सावित्रा भण्डारीले २ गोल फर्काए पनि नेपाल उपविजेतामा सिमित भएको हो । बलियो टिम उज्वेकिस्तानले खेलको ३९ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता बनाएको थियो । नेपाली डिफेन्डर र गोलरक्षकको कमजोरीको फाइदा उठाउँदै उज्वेकिस्तानले गोल गरेको थियो । खेलको दोस्रो हाफमा नेपालले लगातार दुई गोल खाएको थियो । खेलको ५५ औं मिनेटमा उज्वेकिस्तानले दोस्रो गोल गर्यो ।

उज्वेकिस्तानको खेलाडीले ५ नेपाली डिफेन्डरसहित गोलरक्षकलाई बिट गर्दै गोल गर्न सफल भएकी थिईन् । खेलको ६४ औं मिनेटमा उज्वेकिस्तानले ३–० को अग्रता बनाएको थियो ।

तर, खेलको ६७ मिनेटमा सावित्राले गोल गर्दै खेल ३–१ को स्थितिमा ल्याउदै नेपाललाई खेलमा फर्काउने कोशिश गरिन् । खेलको इन्जुरी समयमा सावित्राले पेनाल्टीमा एक गोल गरेपनि नेपाल ३–२ ले पराजित हुन पुग्यो । सरु लिम्बुको बल उज्वेकिस्तानका खेलाडीले ह्याण्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।

यो हारसँगै नेपाल पुनः इतिहास रच्ने अवसरबाट चुकेको छ । पटक पटक फाइनल पुग्दै आएको नेपाली महिला टिम नादेझ्दा कपको फाइनलमा समेत चुकेको छ । यसअघि नेपालले साफ च्याम्पियनसिप ४ पटक, साग २ पटक र हिरो महिला गोल्डकपमा एक पटक फाइनल पुगेर पनि उपाधि जित्नबाट बन्चित भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *