रत्नजित र दिपेश अन्तिम चारमा

डिसी नेपाल
२६ भदौ २०७६ १९:५९

काठमाडौं। सेनाका रत्नजित तामाङ्ग र राष्ट्रिय च्याम्पियन एपिएफका दिपेश धामी आआफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै योनेक्स सनराईज नवौं पुष्पलाल स्मृति र्याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् । तामाङ्गले पुलिसका सुनिल जोशीलाई २१–१०, २१–१३ ले पराजित गरे । अब उनले फाइनल प्रवेशका लागि सेनाकै नविन श्रेष्ठको सामना गर्ने भएका छन् । नविनले आफ्नै क्लबका प्रफुल महर्जनलाई १३–२१, २१–११, २१–१५ ले पाखा लगाए ।

यस्तै एपिएफका दिपेशले सेनाका रुकेश महर्जनमाथि २१–१६, २१–१६ को जित निकाले । सेमिफाईनलम धामीको भिडन्त पूर्व राष्ट्रिय च्याम्पियन भोजपुरका विकास श्रेष्ठसँग हुने भएको छ । विकासले पुलिसका जीवन आचार्य माथि २१–७, १८–२१, २१–११ को जित निकाले ।

ईटहरी रङ्गशालास्थित कभर्डहलमा भएको पुरुष एकल खुल्ला तर्फ सेनाका पविन लिनथेप बाँकेको रियाज अन्सारीलाई १६–२१, २१–७, २१–११ ले पन्छाउँदै अन्तिम चारमा स्थान बनाउन सफल भए । अब उनले सेमिमा एपिएफका प्रियान्सु सिंह क्षेत्री संग प्रतिस्पर्धा गर्ने छन् । प्रियान्सुले एपिएफका ईन्द्र बहादुर महतालाई २६–२४, २१–१९ ले पराजित गरे ।

यस्तै अन्तिम चारमा पुग्ने अन्यमा कैलालीका देवराज राना र एपिएफका निराजन देवकोटा रहेका छन् । रानाले पुलिसका पूर्णबहादुर थापालाई २१–१६, २१–१५ ले तथा देवकोटाले झापाका प्रनिश सिंह ठकुरीलाई २१–१५, २१–१४ ले पराजित गर्दै भेट पक्का गरेका हुन् ।

महिला जोडी तर्फको पहिलो चरणमा भोजपुरकी सिता राई र लोकतमा राईको जोडीले विजयी सुरुवात गरेका छन् । राईको जोडीले रुपन्देहीका सुन्दरी थारु र पुजा बिष्टलाई २१–१९, २१–१९ ले पराजित गरे ।

यस्तै कैलालीकी प्रार्थना देउवा र एलिना तिवारीले धनकुटाका ईन्दिरा राई र श्रीजना घिसिङ्गबाट तथा बाँके÷मोरङ्गका सम्झना शर्मा र सिमा राजबंशीले धनकुटा÷झापाका अरुणा तामाङ्ग र अन्जना राईको जोडी बाट वाकओभर प्राप्त गरे ।

छात्र यु १७ एकल तर्फ कैलालीका अमृत चौधरीले दाङ्गका सफिक ईद्रिसीलाई २१–१५, २१–१४ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेका छन् ।

यस्तै सेनाका भोजबहादुर गुरुङ्गले बुढासुब्बाका सत्यम सुब्बालाई २१–८, २१–७ ले, एपिएफका प्रियान्सु सिंह क्षेत्रीले सुनसरीका सशांकलाई २१–८, २१–१३ ले तथा कञ्चनपुरका हिमाल चन्दले एपिएफका पेम्बा शेर्पाबाट वाकओभर प्राप्त गर्दै अन्तिम चारमा स्थान बनाए । प्रियान्सु पुरुष खुला तर्फ पनि सेमिमा पुगेका छन् ।

नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला एकल खुल्ला तर्फ जेष्ट ब्याडमिन्टन एकेडेमीकी मनिषा खड्काले सुर्खेतकी पुष्पा शाहीलाई २३–११, २१–१५ ले पन्छाउँदै सेमिफाईनल यात्रा तय गरिन् ।

यस्तै बाँकेकी सुष्मा श्रेष्ठले भोजपुरकी लोकतमा राईलाई १३–२१, २१–१६, २३–२१ ले पराजित गरिन् । अव श्रेष्ठलो फाईनल प्रवेशका लागि मनिषाको सामना गर्नेछिन् ।

यसैगरि कैलालीकी प्रार्थना देउवाले एपिएफकी निकिता लामालाई २१–८, २१–१२ ले पन्छाउँदै सेमिमा जेष्ट ब्याडमिन्टन एकेडेमीकी सफी खत्रीसंगको भेट पक्का गरिन् । सफीले रुपन्देहीकी सुन्दरी थारुलाई २२–२०, २१–१७ ले पराजित गरिन् ।

भेट्रान्स जोडी तर्फ सेनाका सुभाष श्रेष्ठ र रुद्र थिङ्गको जोडी सेमिफाईनलको यात्र तय गर्न सफल भयो । यस्तै अन्य जोडीमा इलामका दर्शन भक्तराज र सञ्जय भक्तराज, धनकुटाकी किरण प्रधान र योगश्वर श्रेष्ठ तथा पाल्पाका विरेन्द सिंह बिष्ट र महेश बज्राचार्यको जोडी पनि सेमिफाईनल प्रवेश गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *