मेस्सी बार्सिलोना छाडेर जान स्वतन्त्र, यही सिजनको अन्त्यमा क्लव छाडेर जान सक्ने

डिसी नेपाल
२७ भदौ २०७६ १३:३६

काठमाडौं। लियोनेल मेस्सीले आफू बार्सिलोनामा रहन पाउँदा खुसी रहेको प्रतिक्रिया दिएका छन् । तर, उनले बार्सिलोनामा ‘जित्न सक्ने’ टिम भएमा मात्र आफू क्याम्प नोउमा रहने प्रस्ट पारे । उनले च्याम्पियन्स लिग आफ्नो मुख्य प्राथमिकता भएको भन्दै त्यसको लागि क्लवले जित्न सक्ने टिम तयार गरिदिनुपर्ने शर्त राखेका छन् । गत सिजन लिभरपुलसँग निराशाजनक पराजयसँगै च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएपछि मेस्सी पुनः त्यो दोहोरियोस् भन्ने चाहँदैनन् । बार्सिलोनाले युरोपियन कप नजितेको ५ वर्ष भइसकेको छ ।

मेस्सी अहिले चोटग्रस्त छन् र स्वास्थ्यलाभ गरिरहेका छन् । उनी यो सिजन सुरु भएदेखि बार्सिलोनाको लागि खेल्न सकेका छैनन् । तर, उनले क्लवका अध्यक्ष जोसेप मारिया बार्टेमोउलाई आफू यो सिजनको अन्त्यपछि क्लव छाडेर जान सक्ने बताइसकेका छन् । स्पेनिस मिडिया स्पोर्टलाई दिएको एक अन्तरवार्तामा मेस्सीले आफूले चाहेजस्तो टिम नभएमा आफू फ्रि ट्रान्सफरबाट क्लव छाडेर जान सक्ने बताएको खुलासा गरेका हुन् । मेस्सी र बार्सिलोनाबीच भएको सम्झौतामा यदि मेस्सी सम्झौता अवधि सकिएर अर्को क्लव जान चाहेमा उनको ट्रान्सफर क्लज तिर्नु नपर्ने विशेष व्यवस्था छ ।

‘म कुनै पनि कुराको पुष्टि गर्न सक्दिन किनकि हामीबीच भएको सम्झौतामा केही यस्ता गोप्य शर्तहरु पनि छन् जो बाहिर भन्न मिल्दैन’ उनले भने ‘मैले भन्न सक्ने यत्ति हो म बार्सिलोनामा सम्भव भएसम्म लामो समय बस्न चाहन्छु ।’ उनले आफूले पहिलेदेखि नै बार्सिलोनालाई आफ्नो घर बताउने गरेको उल्लेख गर्दै भने ‘तर म अहिले लामो अवधिको सम्झौता गर्ने पक्षमा छैन ताकि म त्यही सम्झौताको आडमा यहाँ लामो समय बस्नुपर्ने स्थिति नबनोस् ।’ उनले आफ्नो करिअर पनि अन्तिम समयतिर आइसकेको संकेत गर्दै लामो सम्झौता नगर्ने बताएका हुन् ।

मेस्सीले अगाडि भने ‘म यहाँ बस्न चाहन्छु किनकि शारीरिक रुपमा म खेल्नको लागि फिट छु र टिमको महत्वपूर्ण सदस्य बन्न सक्छु । अनि मैले पहिले पनि भनें मलाई जित्ने टिम चाहिन्छ किनकि क्लवमा रहेर मैले जित्ने क्रम जारी राख्नु छ । मेरो लागि पैसा वा क्लजले ठूलो महत्व राख्दैन । अरु कुराहरुले मलाई प्रेरित गर्छन् र सबैभन्दा महत्वपूर्ण कुरा जित्ने टिम पाउनु हो । यो प्रस्ट छ कि म च्याम्पियन्स लिग जित्न चाहन्छु किनकि मैले त्यो जितेको लामो समय भइसकेको छ । क्लवको रुपमा र मेरो व्यक्तिगत तहबाट पनि हामीले च्याम्पियन्स लिग जित्नैपर्छ ।’

क्लवका अध्यक्ष बार्टोमेउले गत हप्ता मेस्सीलाई सम्झौताको २ वर्ष बाँकी रहँदै क्लव छाडेर जान स्वतन्त्रता दिइएको खुलासा गरेका थिए । ‘मेस्सीसँग एउटा सम्झौता भएको थियो जो २ वर्षअघि साइन भएको थियो र ४ वर्षको लागि गरिएको थियो’ अध्यक्ष बार्टोमेउले भनेका थिए ‘यद्यपि २०२०–२१ को अन्तिम सिजनभन्दा पहिल्यै मेस्सी बार्सिलोना छाडेर जान स्वतन्त्र छन्, उनी फुटबलबाटै सन्यास लिन पनि सक्छन् वा अन्य क्लवबाट खेल्न चाहेमा जान पनि पाउँछन् ।’

बार्टोमेउले अगाडि भनेका थिए ‘इनिएस्टा, जाबी र पुयोलसँग पनि यस्तै स्वतन्त्रता छ । यी खेलाडीहरु र लियो मेस्सीको लागि हामीले चिन्ता गर्नु पर्दैन । उनी अर्को क्लवको लागि खेल्न चाहन्छन् भन्ने मलाई लाग्दैन तर उनले आफ्नो भविष्यको लागि स्वतन्त्रता पाएका छन् । उनी बार्साका ठूला फ्यान हुन् र मलाई कुनै शंका छैन कि उनी २०२१ सम्म बार्सिलोनामै रहनेछन् । हामीलाई आशा छ उनी त्यपछिका वर्ष पनि यहीँ रहनेछन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *