बच्चामा ‘रातो टीका निधारमा’ गीतमा खुबै नाच्थेँ : साम्राज्ञी
काठमाडौं। अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले ‘रातो टीका निधारमा’बोलको गीतमा नाच्न पाउँदा खुःसी लागेको बताएकी छन्।
दुई दशक अगाडी बनेको चलचित्र ‘अल्लारे’मा समावेश ‘रातो टीका निधारमा’को रिमेकमा नाचेकी साम्राज्ञीले भनिन् –‘३/४ कक्षामा पढ्दा टेलिभिजनमा यो गीत बज्थ्यो। म रातो टीका निधारमा भन्दै खुबै नाच्थेँ, बाबाममीको हात समात्दै बिहेमा जाँदा पनि यो गीत बजेको हुन्थ्यो। बच्चामा मन परेको यस गीतको भिडियोमा आफै नाँच्न पाउँदा अत्यन्तै खुःशी लाग्यो।’
शुक्रबार राजधानीमा आयोजित चलचित्रको गीत सार्वजनिक कार्यक्रममा साम्राज्ञीले अहिले पनि आफूलाई यो गीतमा बच्चाबेलामा नाचेको झलझली याद आउने बताइन्।
यहि असोज १० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रातो टीका निधारमा’मा गीत रिमेक गरिएको छ। गीतमा साम्राज्ञीले नव–अभिनेता अंकित शर्मासंग छमछमी नाचेकी छन्।
कार्यक्रममा नव–अभिनेता अंकितले चलचित्रलाई लिएर उत्साहित रहेको बताए। ‘यस चलचित्रबाट डेब्यू गर्न पाउँदा अत्यन्तै खुसी छु। आउँदा दिनमा नयाँ चलचित्रमा अझ राम्रो काम गर्दै जानेछु।’
‘रातो टीका निधारमा’लाई अंकितका बुवा अशोक शर्माले निर्देशन गरेका हुन् । चलचित्रमा साम्राज्ञी र अंकितका अलावा नीता ढुंगाना, लक्ष्मी गिरी, बसुन्धरा भुसाल, शिवहरि पौडेल, बुद्धि तामाङ, जयनन्द लामा, रविन्द्र झा लगायतका कलाकारहरुको अभिनय छ।
Facebook Comment