भीमदत्त नगरपालिकामा सेनाको विपद् तालीम

डिसी नेपाल
२७ भदौ २०७६ २१:४७

कञ्चनपुर । नेपाली सेनाले पहिलो पटक कञ्चनपुरको भीमदत्त नगरपालिकामा दुईदिने सामूहिक विपद् प्रतिकार्य तालीम शुरु गरेको छ।

भीमदत्त नगरपालिकासितको सहकार्यमा आजदेखि नेपाली सेनाको सिंहशार्दूल गुल्म भगतपुर ब्यारेकको आयोजनामा नगरपालिकाका १९ वटै वडाका ३२ जना स्थानीयलाई विपद् व्यवस्थापन तालीम सञ्चालन गरेको छ।

सहभागीलाई गुल्मले प्रयोगात्मक विधिबाट समेत प्रशिक्षण दिने सेनाले जनाएको छ। उद्घाटनका अवसरमा सिंहशार्दूल गुल्मका गुल्मपति सेनानी प्रणयजङ्ग मल्लले स्थानीयस्तरमा रहेका स्रोत साधनको प्रयोग गरी विपद् जोखिमबाट बच्न सकुन् भन्ने उद्देश्यले तालीम सञ्चालन गरिएको बताए।

“विपद् आइलाग्दा शुरुमा स्थानीय नै त्यहाँ पुग्छन”, गुल्मपति मल्लले भने, “स्थानीयले विपद्का जोखिमलाई निरुत्साहित गर्न सकुन् भनेर तालीम आयोजना गरिएको हो।” कञ्चनपुरका नौवटै स्थानीय तहमा उक्त तालीम सञ्चालन गर्ने गुल्मको योजना रहेको उनले जानकारी दिए।

यस प्रकारका तालीमले सैद्धान्तिक र व्यवहारिक ज्ञान प्राप्त भई समुदायमा आउन सक्ने जोखिम न्यूनीकरणमा सहयोग पुग्ने बताइएको छ। सिंहशार्दूल गुल्मले कञ्चनपुरमा स्वास्थ्य शिविर, विभिन्न सचेतनामूलक कक्षा सञ्चालन गर्नुका साथै सामाजिक कार्यमा सक्रिय हुदै आएको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *