नेकपाले सुदुरपश्चिमका ९ जिल्ला र ८८ स्थानीय तहमा पार्टी एकता टुँग्यायो

डिसी नेपाल
२८ भदौ २०७६ ७:४७

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशमा पार्टी एकताको कार्यलाई पूर्णता दिएको छ। प्रदेशका नौवटै जिल्लाका ८८ स्थानीय तहमा पार्टी एकताको कार्यलाई प्रदेश कमिटीले टुङ्गो लगाएको पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले बताए ।

पार्टी प्रदेश कमिटी बैठकले नगरपालिका, गाउँपालिका र वडाका पदाधिकारी चयन गरेको हो । अध्यक्ष थापाले भने, “असोज १५ गते शपथ हुन्छ, सबै जिल्ला र तहगत कमिटीलाई कार्यालय र सचिवालय गठनको सकुर्लर जारी भइसकेको छ ।” जिल्ला, वडा, टोल, शाखा र सेल कमिटी कार्यालयमा रहने व्यक्तिको सङ्ख्या मापदण्ड बैठकले तय गरेको छ ।

कात्तिक पहिलोसाता स्थानीय तहका जनप्रतिनिधिलाई प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने बैठकले निर्णय गरेको छ। साम्प्रदायिक विद्वेष फैलाउने र जनताको एकतालाई विखण्डन गर्ने किसिमका कुनै पनि कार्यमा पार्टीका कार्यकर्ता सङ्लग्न नहुन बैठकले निर्णय गरेको छ।

पार्टीका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा एक अर्काप्रति सार्वजनिक रुपमा अमर्यादित, अस्वस्थ्य र तथ्यहित टीकाटिप्पणी गर्न निषेध गरिएको छ। विधिसम्मत कमिटीका निर्णय र सहमतिभन्दा छुट्टै कुनै समूहगत भेला तथा बैठक कसैले नगर्ने र त्यस्ता कार्य गरिएमा कारवाही हुनसक्ने अध्यक्ष थापाले बताए ।

उहाँले भन्नुभयो, “सबै तहका नेता, कार्यकर्ता र सदस्य एक भई सक्रियतासाथ पार्टीको कार्यमा अगाडि बढ्न आह्वान गरेका छौँ ।” बैठकमा भएका निर्णय शुक्रबार कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *