कास्कीका सबै वडामा नेकपा पार्टी कमिटी गठन

डिसी नेपाल
२८ भदौ २०७६ ८:३१

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कास्कीका ७२ वडामा पार्टी कमिटी गठन गरेको छ। महानगरको ३३ र चार गाउँपालिकाका ३९ वडामा एकता प्रक्रिया सकिएपछि शपथ कार्य शुरु गरिएको केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज राजकाजी गुरुङले बताए। महानगरका वडामा शपथ गराउने कार्यक्रम केहीमा सकिएको र दुई/तीन दिनभित्रमा ३३ वटैमा सकिएर गाउँपालिकामा शपथ शुरु गरिने जनाइएको छ।

पार्टीको १० सदस्यीय जिल्ला कार्यालय सदस्यको टिमले वडा विभाजन गरेर शपथ गराएको हो। गत असारमा वडाका अध्यक्ष र सचिव चयन गरेको दुई महीनापछि कमिटीमा रहने सदस्य चयन गरिएको हो। नेकपाले ४५ सदस्यीय महानगर वडा कमिटीमा पूर्व एमालेबाट २६ र माओवादी केन्द्रबाट १९ तथा गाउँपालिकाको २९ सदस्यीय कमिटीमा पूर्व एमालेबाट १७ र माओवादीबाट १२ रहने गरी गठन गरेको छ।

वडामा कमिटी चयन भएपनि महानगरसहित चार गाउँपालिकाका अध्यक्ष र सचिव भने अझै टुङ्गिन सकेको छैन। महानगर कमिटीको अध्यक्षको जिम्मेवारी पार्टी केन्द्रको सचिवालयले टुङ्गो लगाउने भएकाले नेतृत्व चयन हुन बाँकी रहेको जिल्ला इञ्चार्ज गुरुङले बताए । वडाका इञ्चार्ज र सहइञ्चार्ज भने प्रदेश कमिटीले तोक्ने बताइन्छ। महानगर कमिटीको नेतृत्व पाउनेले एउटा गाउँपालिका लिनुपर्ने पूर्व माओवादीले बताउँदै आएको छ भने पूर्व एमालेले महानगर जसको भागमा परेपनि गाउँपालिका दुई/दुई गरिनुपर्ने माग गरेको छ।

नेकपाले वडा कमिटी चयनसँगै आगामी मङ्सिर १४ गते क्षेत्र नं २ मा हुने उपनिर्वाचनको तयारी शुरु गर्ने भएको छ । सरकारले गरेका कामको जनस्तरमा लैजाँदै उपनिर्वाचनमा होमिने बताउँदै इञ्चार्ज गुरुङले भने, “पार्टीको तल्ला कमिटी गठनसँगै उपनिर्वाचनमा होमिन्छौँ। हाम्रो पार्टीको नेतृत्वमा रहेका तीनै तहका सरकारका काम जनतामाझ लगेर मत माग्छौँ।” रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *