ला लिगामा हाजार्डको डेब्यू, जित निकाल्दै रियल दोस्रो स्थानमा उक्लियो

डिसी नेपाल
२९ भदौ २०७६ ५:५२

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले साँघुरो जित निकालेको छ । शनिबार भएको खेलमा रियलले लेभान्टेलाई ३–२ गोल अन्तरले हराएको छ ।

घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे । यस्तै कासिमिरोले एक गोल थपे । लेभान्टेका बोर्जा मायोरल र गोन्जालो मेलेरोले एक एक गोल फर्काए ।

सान्टीयागो बेर्नाबेउमा खेलको २५ औं मिनेटमा बेन्जिमाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ३१ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई २–० को अग्रता दिलाए । खेलको ४० औं मिनेटमा कासिमिरोले गोल गर्दा पहिलो हाफमा रियल ३–० ले अघि रह्यो ।

दोस्रो हाफमा लेभान्टे खेलमा फर्कने कोशिश गरेपनि सफल भएन । खेलको ४९ औं मिनेटमा पाहुना टोलीका मायोरलले गोल गर्दै खेल ३–१ मा ल्याए । त्यसपछि खेलको ७५ औं मिनेटमा मेलेरोले थप एक गोल गरेपनि लेभान्टे ३–२ ले पराजित भयो ।

यस्तै खेलको दोस्रो हाफमा मैदान प्रवेश गर्दै रियलका मिडफिल्डर इडेन हाजार्डले ला लिगामा डेब्यु गरे । चोटका कारण मैदान बाहिर रहदै आएका हजार्ड खेलको ६० औं मिनेटमा कासिमिरोको स्थानमा मैदान प्रवेश गर्दै लिगमा डेब्यु गरेका हुन् ।

बेल्जियमका कप्तान हाजार्ड इन्ग्लिश क्लब चेल्सीबाट यसै सिजन रियल आएका हुन् । जितसँगै रियल लिगको दोस्रो स्थानमा उक्लिएको छ । रियलले ४ खेलबाट ८ अंक जोडेको छ । लेभान्टेको ४ खेलबाट ६ अंक रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *