सन्तले राजकुमारलाई रुख उखेल्न भने, राजकुमारले भने असंभव
काठमाडौं। एउटा प्रचलित लोक कथाका अनुसार प्राचीन समयमा एक जना राजा दिनभर काममा व्यस्त हुन्थे। राजा आफ्नो काममा व्यस्त हुँदा उनले राजकुमारप्रति ध्यान दिन पाएनन् र राजकुमार कुलतमा फस्न पुगे। राजकुमार नशामा लिप्त हुन्थे भने नराम्रो मानिसको संगतमा रहन्थे।
एक दिन राजाले राजकुमारको नराम्रो बानीका विषयमा जानकारी पाए। उनलाई चिन्ता हुन थाल्यो। आफूले यत्रो कडा मेहनत गरेर यत्रो राज्य बनाएँ तर मेरो छोराले यो एक दिन सबै बर्बाद पारिदिन्छ भन्ने राजालाई चिन्ता हुन थाल्यो।
राजा आफ्नो नगरको प्रसिद्ध सन्त भएको ठाउँमा गए र भने–महाराज मेरो छोराको भविष्यप्रति मलाइ निकै चिन्ता हुन थालेको छ। कृपया मेरो छोरालाई सुधार्नुस्।’
सन्तले राजकुमारलाई आफू भएको ठाउँमा पठाउन आग्रह गरे। भोलिपल्ट राजाले राजकुमारलाई सन्तकहाँ पठाए। सन्त निकै बुद्धिमान थिए। सन्तले राजकुमारलाई आफ्नो बगैंचामा लिएर गए।
सन्तले राजकुमारलाई भने–यो सानो विरुवा छ, यसलाई उखल्देउ।’ राजकुमारले तत्काल त्यो विरुवा उखेले। त्यसपछि सन्तले केही ठूलो विरुवा उखेल्न भने। राजकुमारले आफ्नो बल लगाएर त्यो विरुवा पनि उखेले।
राजकुमारले सन्तले आफूलाई किन विरुवा उखेल्न लगाएका थिए भन्ने विषयमा केही सोच्न सकेका थिएनन्। त्यसपछि सन्तले ठूलो रुखतर्फ इशारा गर्दै रुख उखेल्न भने।
राजकुमारले निकै कोशिश गरे। तर, रुख उखेल्न सकेनन्। राजकुमारले भने–गुरुजी यो रुख उखेल्न असंभव छ।’
सन्तले भने–ठिक यसै प्रकारको हाम्रो नराम्रो बानी हुन्छ। अहिले तिम्रो उमेर धेरै भएको छैन। त्यसकारण तिम्रो नराम्रो बानीको जरा पनि कमजोर छ। अहिले तिमीले यी नराम्रो बानीलाई उखेल्न वा छोड्न सक्छौ। यदि तिमीले यी खराब बानीलाई अहिले छोडेनौ भने यी विस्तारै बढ्दै जान्छ र उसलाई उखेल्न असंभव हुन्छ।’
राजकुमारले सन्तको कुरा बुझे र सबै नराम्रो बानी छोड्दिए। यो कथाबाट के शिक्षा पाइन्छ भने हाम्रो नराम्रो बानी चाँडै छोड्दिनुपर्छ। यदि नराम्रो बानी लामा समयसम्म रह्यो भने नराम्रो बानीका कारण हाम्रो जीवन बर्बाद हुन्छ।
Facebook Comment