संसदीय समितिले सरकारको निगरानीमात्रै गर्छ, नियन्त्रण गर्दैनः सभामुख

डिसी नेपाल
३० भदौ २०७६ ११:३२

काठमाडौं। सभामुख कृष्णबहादुर महराले संसदीय समितिहरुले सरकारको कामको निगरानीमात्रै गर्ने बताएका छन्।
संविधानसभा भवन नयाँ बानेश्वरमा सोमबार भएको अन्तक्र्रिया कार्यक्रममा सभामुख महराले समितिले सरकारलाई नियन्त्रण नगर्ने बताएका हुन्। ‘संसदले समितिमार्फत सरकारले आफ्नो ट्र्याक छाड्छ कि भनेर निगरानीमात्रै गर्ने हो,’ उनले भने।

सभामुख महराले सरकारले ‘रेस्पोन्स’ गरेको अवस्थामा संसदका काम कारबाही झनै प्रभावकारी हुने उल्लेख गरे। उनले संसदले संकल्प प्रस्ताव, सार्वजनिक महत्वको प्रस्ताव, ध्यानाकर्षण प्रस्तावहरु पारित गरेको बताउँदै त्यसको कार्यान्वयनका लागि सरकारको तदारुकताको अपेक्षा राखे।

सभामुख महराले संसद नियमावलीअनुसार चल्नु नै संसदीय प्रक्रियाको असल अभ्यास हुने बताउँदै सांसदहरु आफ्नो जिम्मेवारी र दायित्वप्रति सजग हुनुपर्नेमा जोड दिए। उनले सांसदहरु कानुन निर्माणका लागि मात्रै चुनावबाट आए पनि निर्वाचनमा गरेका प्रतिबद्धताहरु पूरा गर्न पनि विकास निर्माणसँग जोडिएको उल्लेख गरे।

मन्त्रीहरुसँग प्रश्नोत्तरको कार्यक्रमलाई निरन्तरता दिए पनि प्रधानमन्त्रीको स्वास्थ्यका कारण प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम अहिलेसम्म एकपटक मात्रै गर्न सकिएको उनले बताए।

उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले संसदीय अभ्यासलाई विगतभन्दा प्रभावकारी बनाउन संसदले रणनीतिक कार्ययोजना नै बनाएको बताइन्।

‘कार्ययोजनामा सांसदहरुको क्षमता अभिवृद्धिदेखि संसदीय अभ्यास प्रभावकारी बनाउने भन्ने पनि छ,’ उनले भनिन्। उनले सांसदहरुलाई आफ्नो कार्यकालमा संसद प्रभावकारी भएको महसुस दिलाउने गरी काम गर्न आग्रह गरे।
राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले संसदमा प्रस्तुत हुँदा सांसदहरुलाई प्राविधिक विषयहरु पनि ध्यान दिन सुझाव दिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *