समाजवादी पार्टीको निर्णय : संविधान दिवसको विरोध न समर्थन !

काठमाडौं। संविधान संशोधन गर्नेलगायतका तीन बुँदे सहमति गरेर सरकारमा सहभागी भएको समाजवादी पार्टीले असोज ३ गते संविधान दिवसको समर्थन र विरोध दुवै नगर्ने निर्णय गरेको छ।
वर्तमान संविधानलाई त्रुटिपूर्ण भन्दै करिव ६ महिना लामो आन्दोलन गरेको तत्कालीन मधेसी मोर्चामा सहभागी समाजवादी पार्टीले संविधान दिवसका तीन संविधानको विरोध र समर्थनका कुनै कार्यक्रम नगर्ने जनाएको हो।
समाजवादी पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख प्रशान्त सिंहले सोमबार एक विज्ञप्ति जारी गर्दै संविधान दिवसका दिन संविधानको समर्थन र विरोधमा कुनै पनि गतिविधि नगर्ने पार्टीको नीति रहेको जनाएका हुन्।
‘२०७२ सालको विद्यमान संविधान त्रुटिपूर्ण एवं अपूर्ण रहेकाले संविधान जारी भएको दिन असोज ३ गतेको सन्दर्भमा खुशीयालीको रुपमा दिपावली वा विरोधको रुपमा कालो दिवस दुवै नमनाउने र त्यस्ता कार्यक्रममा सहभागी पनि हुने समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्णय गरेको छ,’ समाजवादी पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख प्रशान्त सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै उक्त दिन ‘संविधान संशोधनको अपरिहार्यता र आवश्यकता’ विषयक अन्तरक्रियात्मक कार्यक्रमहरु सातवटै प्रदेशको राजधानीमा गर्ने बैठकले निर्णय गरेको छ।’
समाजवादी पार्टी संविधान संशोधन गर्नेलगायतका तीन बुँदे सहमति गरेर सरकारमा सहभागी भएको थियो। तर सरकारले अहिलेसम्म संविधान संशोधन गर्ने छाँट नदेखाएपछि समाजवादी पार्टीलाई सरकारबाट बाहिरिने दबाव परेको छ।
यसअघि सरकारलाई बाहिरै बसेर समर्थन गरेको राजपाले आफूहरुको माग पूरा नगरेको भन्दै सरकारलाई लिएको समर्थन फिर्ता लिएको थियो। राजपाले असोज ३ गते संविधान दिवसको दिनलाई कालो दिनको रुपमा मनाउने निर्णय गरेको छ।
Facebook Comment