च्याम्पियन्स लिगमा पिएसजीले रियल मड्रिडको सामना गर्दा नेइमार र एम्बाप्पे दुवै नखेल्ने

डिसी नेपाल
३० भदौ २०७६ १६:०७

काठमाडौं। च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा फ्रान्सको लिग वान विजेता पेरिस सेन्ट जर्मेनले स्पेनिस जाइन्ट रियल मड्रिडको सामना गर्दा पिएसजीका दुई सुपरस्टार नेइमार र किलियन एम्बाप्पे दुवै नखेल्ने भएका छन् । बुधबार हुने खेलमा अघिल्लो सिजनमा लागेको तीन खेलको प्रतिबन्धका कारण नेइमार खेल्न पाउने छैनन् ।

अघिल्लो सिजन राउण्ड अफ १६ को खेलमा म्यान्चेस्टर युनाइटेडसँग पराजित भएपछि नेइमारले रेफ्रीको विषयमा गरेको कमेन्टका कारण उनलाई ३ खेलको प्रतिबन्ध लगाइएको थियो । चोटका कारण मैदानबाहिर रहेका उनी आइतबार मैदानमा भने फर्किएका छन् । अर्कोतर्फ एम्बाप्पे मांशपेशीको इन्जुरीका कारण मैदानबाहिर छन् । टौलौसविरुद्धको खेलमा चोटग्रस्त भएका एम्बाप्पे यो खेलसम्म फिट हुने सम्भावना न्यून छ ।

उता एडिन्सन काभानी पनि पूर्ण रुपमा फिट भइसकेका छैनन् । उनी पनि स्टार्टिङ लाइनअपमा हुने सम्भावना कम छ । केलर नाभासले आफ्नो पूर्व टिमविरुद्ध गोल पोस्टको जिम्मेवारी सम्हाल्ने सम्भावना छ । नाभास यही सिजनको सुरुवातमा रियलबाट पिएसजी आएका थिए ।

रियल मड्रिडलाई पनि यो खेल सहज छैन । इडेन हजार्ड, जेम्स रोड्रिग्वेज र ब्राहिम डियाज चोटमुक्त भइसकेका छन् तर जिदानलाई डिफेन्स र मिडिल थर्डको लागि कसलाई खेलाउने भन्ने संकट छ । सर्जियो रामोस र नाचो प्रतिबन्धमा परेका छन् । इडर मिलिटाओ र राफेल भराने मात्रै जिदानको लागि ब्याकलाइन विकल्पको रुपमा छन् । सिजन सुरु भएपछि ४ खेलमा रियलले कुनै पनि खेलमा गोल नखाइ क्लिन सिट राख्न सकेको छैन । उसले ४ खेलमा ६ गोल खाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *