वाशिङ्गटन डिसीमा बसन्त चौधरीको भब्य अभिनन्दन, यसरी सम्पन्न भयो विश्व काब्य यात्रा र दश वटा कृतिको बिमोचन !

अमेरिका । कविता सुन्नका लागि खचाखच भरिएको प्रवासको एक सभाहल । त्यो भीडले खोजिरहेको एक विशेष पात्र । त्यही विशेष पात्रलाई स्वागत गर्न हतारिएका फूल जस्तै कोमल हृदयका खास मान्छेहरु । यत्तिकैमा सबैको प्रतिक्षाको घडीलाई समाप्त पार्दै एक हसिलो चेहरा भएको व्यक्ति सभाहलमा प्रवेश गर्छ । उपस्थितहरुको गडगडाहट तालीले स्वागत गरिरहँदा हलको वातावरण साच्चिकै लोभलाग्दो देखिन्थ्यो । त्यही विशेष पात्रलाई उद्घोषक भूपनारायण घर्ती मगरले सगर्व उदघोष गरे “कवि वसन्त चौधरी” । अनि फेरि गुञ्जियो तालीको गडगडाहट । यत्तिकैमा पुष्पगुच्छाले स्वागत गरे उनै वसन्तलाई, ख्यातीप्राप्त गायक रामप्रसाद खनालले ।
विशेष तवरले सिंगारिएको मञ्चबाट शुरु भयो कविताको बाचनक्रम । नेपाली माटोको सुगन्ध, मगमगाउन थाल्यो हलै भरी । वसन्तका कविता उनी जस्तै प्रिय र सुनौ सुनौ लाग्ने खालका थिए। वसन्त कविता सुनाउँथे। उपस्थित जन बीचबीचमा तालीले साथ दिन्थे। वसन्त मुक्तक वाचन गर्थे, दर्शक दीर्घा वावा गर्दै त्यसैमा समाहित हुन्थे। प्रेमले संसार बदल्न सक्छ भन्ने मान्यता राख्ने वसन्त मायामा संसार अडिएको बताउँदै आएका छन् । उनका कविता प्रेमले मुछिएका छन्। प्रेमलाई जसले घृणा गर्छ, उसले वसन्तका गीत र कविता सुन्ने वित्तिकै उसले धारणा परिवर्तन गर्न सक्छ। प्रेममय कविता सुनाइरहँदा वसन्त प्रश्न गर्दैछन्,”प्रेम के हो प्रेमराजा जी ?”अग्रपंतीमा रहेका प्रेमका राजा ख्याती प्राप्त गायक प्रेमराजा महत मुसुमुसु हाँसेर जवाफ फर्काउँछन्,”त्यो त हजुरका कविताले बोली सकेका छन्।”
जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्छन् कवि भन्ने भनाईलाई वसन्तले पुष्टि गरेका छन्। विश्वका विभिन्न देशका विभिन्न भिन्न ठाउँहरुमा वसन्तका विश्व काव्ययात्राका श्रृंखलाहरु सम्पन्न भइसकेका छन्, र यो उनको २० औं श्रृंखला थियो। अन्तर्राष्ट्रिय कलाकार मञ्च तथा इन्टरनेशनल मिडिया एण्ड इन्टरटेनमेन्टले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा विभिन्न नौ भाषामा लेखिएको वसन्तको पुस्तकको विमोचन समेत गरिएको थियो। नेपाली गीत, संगीत, साहित्यलाई विश्व बजारमा पुर्याउन यस्ता कार्यक्रमहरु आवश्यक पर्दछ। यही कुरालाई आत्मसाथ गर्दै यो अभियान चालिएको हो। यस अभियानलाई अझ प्रभावकारी बनाउने अभियानका एक साहित्कार राजेन्द्र शलभले हामीलाई जानकारी गराए।
अग्रज कवि, साहित्यकार, गीतकार वसन्त चौधरी यतिमै सीमित रहेनन्। यो कार्यक्रमबाट उनी सेलिब्रेटी कवि हुन् भन्ने कुरा आफैले प्रमाणित गरे। यसरी अमेरिकाको डि.सी मेट्रो एरियामा बस्ने सयौं प्रवासी नेपालीहरुका मन–मनमा कविता, मुक्तक र गजलको अमिट छाप छोड्दै वसन्तको २० औं काव्य यात्रा सम्पन्न भयो। वसन्त संगीतलाई जीवन र कवितालाई आत्मा मान्छन् । उनले कार्यक्रममा उपस्थित सबैसँग कार्यक्रम केही ढीलो सुरु भएकोमा क्षमा समेत मागेका थिए ।
काव्ययात्राको २० औं श्रृंखला सकिएसँगै चौधरीले यसलाई सफल बनाउन सहयोग गर्नेहरुलाई धन्यवाद दिएका छन् । उनले फेसबुकमा एउटा नोट लेख्दै आफ्नो काव्ययात्रा समापनको नजिकै आइपुगेको बताएका छन् । चौधरीले यात्राको अन्त्यतिर आइपुग्दा यसले पूर्णता पाएकोमा सन्तुष्टिसँगै यात्रा अन्त्य हुन लागेकोमा पीडा समेत भएको बताएका छन् । चौधरीले काव्ययात्राका क्रममा आफूलाई साथ समर्थन र हौसला दिनेहरुबाट आफू थप उत्साहित र प्रेरित भएको भन्दै यो हौसलाले आफू कृतज्ञ भएको उल्लेख गरेका छन् । अहिलेको समयमा विभाजित मानिसहरुलाई पनि साहित्यले एक ठाउँमा ल्याउन सक्ने उल्लेख गर्दै चौधरीले मातृभाषाको स्पर्शले कार्यक्रममा आफ्नोपन थपेको बताएका छन् ।
कार्यक्रमका आयोजक अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले पनि कार्यक्रम सफल पार्न सहयोग गर्नेहरुलाई धन्यवाद दिएका छन् । खनालले लेखेका छन् ‘साहित्य, कला, गीत संगीत, सँस्कृतीको क्षेत्रका एक प्रखर हस्ती, सबैको मन मुटु जित्न सफल बसन्त दाईका बिभिन्न नौं भाषामा प्रकाशित कविता कृति ‘बसन्त’ र हिन्दी भाषामा प्रकाशित कृति ‘चाहतोँ के साय में’ को अमेरिका लोकार्पण र दाईको काब्य बाचनको हामीलाई प्राप्त अबसर प्रति म नतमस्तक छु र दाई प्रति हार्दिक आभार ब्यक्त गर्न चाहन्छु ।’ खनालले चौधरीजस्ता बहुमुखी प्रतिभाका धनी, उदाहरणीय ब्यक्तित्वलाई अमेरिकामा अभिनन्दन गर्न पाउँदा अमेरिकाबासी नेपालीहरु ज्यादै हर्षित भएको समेत उल्लेख गरेका छन् । कार्यक्रमको सुरुमा खनालले चौधरीको सम्मानमा उनकै नाममा लेखिएको कविता समेत वाचन गरेका थिए ।
आयोजकको तर्फबाट चौधरीलाई स्वागत गर्दै अन्तर्राष्ट्रीय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले साहित्यकार चौधरीलाई गत वर्ष आफू नेपाल आएको बेला अमेरिका आउन निमन्त्रणा गरेको तर कारणवश कार्यक्रम आयोजना हुन नसकेको स्मरण गर्दै उनले यस वर्ष नेपाल आएको बेला पुनः निमन्त्रणा गरेर निम्त्याएको बताए । वासिंगटन डिसीले नेपालका कलाकार, साहित्यकार, कविलाई सम्झिने गरेको जानकारी गराउँदै साहित्यकार वसन्त चौधरीले निमन्त्रणा स्वीकारेर वासिंगटन डिसीमा आइदिएकोमा हार्दिक स्वागत गर्दै अध्यक्ष खनालले चौधरीको नाममा एउटा कविता समेत बाचन गरे ।
सबै तस्वीरहरूः राजीव श्रेष्ठ, फोटो बैंक स्टुडियो
Facebook Comment