‘पर्यटन बोर्ड र वायुसेवा निगमको सम्बन्ध सुधार हुनुपर्छ’

डिसी नेपाल
३१ भदौ २०७६ २१:३५

काठमाडौं । नेपालको पर्यटन विकासका लागि नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमको सम्बन्धलाई सुधार गर्नुपर्नेमा जोड दिइएको छ।

नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाल एसोसिएशन टुर्स एण्ड ट्राभल एजेन्ट (नाट्टा)ले आज यहाँ आयोजना गरेको ‘नेपाल वायुसेवा निगमको जापान उडानलाई दीर्घकालीन तथा व्यवस्थित बनाउन आयोजित छलफल’का वक्ताहरुले पर्यटन बोर्ड र निगमको सम्बन्ध मजबुद भए मात्र नेपालमा जापानी पर्यटकको सङ्ख्या वृद्धि हुने बताएका हुन्।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले बोर्ड र वायुसेवा निगमको सम्बन्ध सुमधुर भए मात्र मुलुकमा धेरै पर्यटक भित्रिने बताए।

“नेपालमा जापानी पर्यटक भित्र्याउनका लागि जापानी राजदूतावाससँगको सम्बन्धलाई थप मजबुद बनाउनु जरुरी छ”, उनले भने।

नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक टङ्कनिधि ढकालले नेपाल वायुसेवा निगमलाई बलियो बनाउन पर्यटन क्षेत्रकै महत्वपूर्ण भूमिका रहने बताए।

“पर्यटन व्यवसायीको अनुभव र हौसलाका कारण नै नेपाल वायुसेवा निगम चल्न सक्छ”, उनले भने। नाट्टाका अध्यक्ष सिएन पाण्डेले राज्यको सम्पत्तिका रुपमा रहेको नेपाल वायुसेवा निगमलाई बचाउने जिम्मा नेपालीको भएको बताए।

नेपाल पर्यटन बोर्ड नयाँ गन्तव्य स्थलको खोजी गरी अगाडि बढ्नुपर्ने उनको भनाइ थियो। पर्यटन व्यवसायीहरुले नेपाल वायुसेवा निगमको विकासका लागि समूह बनाएर अध्ययन तथा प्रचारप्रसारमा ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

सन् १९५८ मा स्थापना भएको नेपाल वायुसेवा निगमले हाल देश तथा विदेशमा विभिन्न जहाज मात्र सेवा प्रदान गर्दै आइरहेको छ।

१२ वर्षपछि नेपाल–जापान हवाई सेवा विस्तार गरेको निगमलाई व्यवस्थित बनाई धेरैभन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नाट्टाका महासचिव रमेश थापाले जानकारी दिए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *