के ‘कबड्डी’को चौथो सिक्वेल बन्छ ?
काठमाडौं। चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र हो। ‘कबड्डी’ र ‘कबड्डी कबड्डी’को सफलतापछि चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ ल्याईएको हो। चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्।
यसअघिको कथा काजी पात्रले आफ्नी सोल्टिनी मैया पाउन गरेको संघर्षमा थियो। सोमबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा निर्देशक गुरुङले ‘कबड्डी कबड्डी कबड्डी’मा पनि त्यही कथाले निरन्तरता पाएको बताए।
उनले यसमा पनि चलचित्रको कथा नटुङ्गिएको बताए। उनले चौथो संस्करणमा चलचित्र टुंगिने जानकारी दिए।
‘हुन त दोस्रो सिक्वेललाई नै अन्तिम बनाउने सोचका थियौं’ निर्देशक गुरुङले भने, –‘काम गर्दै जाँदा तेस्रो पनि बन्यो। अब चौथोमा सबै कथा टुंग्याउँछौं।’
चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, बुद्धि तामाङ, विजय वराल लगायतका कलाकारहरुको अभिनय छ।
चलचित्रप्रति दर्शकको उत्साहपूर्ण क्रेजलाई मध्येनजर गर्दै मल्टिप्लेक्स हलहरुमा मंगलबारदेखि नै अग्रिम बुकिङ खुला गरिएको छ भने चलचित्रलाई अहिलेसम्मकै सर्वाधिक शो दिईएको छ।
Facebook Comment