के गर्दैछ विप्लव समूह?

डिसी नेपाल
२ असोज २०७६ ८:२७

काठमाडौं। सरकारसँग वार्ता गर्न तयार भएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्रति सरकार आक्रमक हुन थालेको छ। विप्लव समूहसँग वार्ता गर्न पहल गरेको सरकार अहिले पेलेरै जाने रणनीतिमा पुगेको छ।

सरकारले गत फागुनमा विप्लव समूहप्रति प्रतिबन्ध लगाएको थियो। सरकारी प्रतिबन्धपछि ठूलो संख्यामा विप्लव निकट नेता कार्यकर्ता पक्राउ परिसकेका छन्।कयौं नेता कार्यकर्ताले पार्टी परित्याग गरिसकेका छन्।

पछिल्लो समय कमजोर बनेको विप्लव समूह सरकारसँग वार्ता गर्ने निचोडमा पुगेको छ। तर सरकारले आफूहरुलाई दमन गरेरै सिध्याउने नीति लिएको भन्दै सरकार वार्ता प्रति इमान्दार नभएको निष्कर्ष निकालेको छ।

‘प्रधानमन्त्रीले वार्ता चाहेको जस्तो देखिन्छ, तर प्रधानमन्त्री निकटका व्यक्ति वार्ता नहोस भन्ने चाहन्छन्। सरकारले इमान्दारी पूर्वक वार्ता गर्न चाहेको हो भने हामी वार्ताका लागि तयार छौं,’ विप्लव समूहका एक नेताले भने।

सरकारले विप्लव समूहसँग वार्ताको पहल गर्न नेकपा नेता सोमप्रसाद पाण्डेलाई जिम्मा दिएको थियो। बीचमा पाण्डेले वार्ताका लागि पहल पनि गरेका थिए। तर पछिल्लो समय सरकारको प्राथमिकतामा वार्ता नपरेपछि पाण्डेपनि निष्क्रिय बनेका छन्।

पछिल्लो समय विप्लव समूहका नेता कार्यकर्ता धमाधम पक्राउ पर्नु र उनीहरुले पार्टी परित्याग गर्न थालेपछि सरकारले तत्काल वार्तालाई भन्दा पनि विप्लव समूहलाई कमजोर पार्ने रणनीति लिएको हुन सक्ने विप्लव समूहको बुझाइ छ। हालसम्म विप्लव निकट ८ सय बढी नेता कार्यकर्ता पक्राउ परिसकेका छन् भने सय बढी नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन्।

‘सरकार विप्लव समूहसँग वार्ता गर्न तयारै छ। तर, अहिले विप्लव समूह कमजोर भइरहेको अवस्थामा केही समय वार्ता भन्दा पनि विप्लवलाई कमजोर बनाउने रण्नीतिमा लिएको हुनसक्छ,’ नेकपाका एक नेताले भने, ‘विप्लव समूह कमजोर भएको अवस्थामा वार्ता गर्दा सरकारको हातमाथि पर्छ।’

धमाधम आफ्ना नेता कार्यकर्ता पक्राउ पर्न थालेपछि विप्लव समूह रक्षात्मक अवस्थामा पुगेको छ। विप्लव समूह सरकारसँग वार्ता होस भन्ने चाहन्छ। सरकारसँग सकारात्मक र निष्कर्षमा पुग्ने प्रकारको वार्ताका लागि आफ्नो पार्टीभित्र छलफल भइरहेको विप्लव निकट एक नेताले जानकारी दिए।

विप्लव वार्ताप्रति सकारात्मक भएका बेला सरकारले भने पेल्ने नीति लिएको छ। बुधबार प्रधानमन्त्री केपी ओलीले विप्लव समूहप्रति आक्रामक अभिव्यक्ति दिएका थिए।

संसदीय संसद भवनको शिल्यान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लवप्रति लक्षित गर्दै लोकतन्त्रमाथि खतरा आए सरकार बघिनीको शैलीाम प्रस्तुत हुने चेतावनी दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *