इच्छाकामना मन्दिर पुनःनिर्माणका लागि आर्थिक अभाव

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेको ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिरको पुनःनिर्माणका लागि आर्थिक अभाव भएको छ। धेरै वर्ष पुरानो ढुङ्गा–माटोको गारोले निर्माण गरिएको इच्छाकामना मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनःनिर्माण शुरु गरिएको छ।
मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराका अनुसार मन्दिरको पुनःनिर्माणका लागि रु तीन करोड २५ लाख लाग्नेछ। अहिले प्रदेश नं ३ सरकारबाट प्राप्त रु ५० लाखले ढोकासम्म राख्ने काम भएको छ । गत आइतबार मन्दिरमा ढोका राखिएको हो। १८ महीनाभित्र मन्दिर निर्माण सम्पन्न गर्ने लक्ष्य लिए पनि आर्थिक स्रोत जुटाउन नसक्दा समयमा मन्दिर निर्माण सक्न गाह्रो हुने देखिएको छ।
अहिले इच्छाकामना गाउँपालिकाले रु ८० लाख सहयोग गर्ने आश्वासन दिएको समितिका अध्यक्ष बोहोराले बताए । यसबाहेक अन्य आर्थिक स्रोत नभएको अध्यक्ष बोहोराको भनाइ छ। मन्दिर पुनःनिर्माणका लागि उनले सम्पूर्ण श्रद्धालु भक्तजन तथा सहयोगी मनहरुलाई आग्रह गरे ।
गोरखाको शहीद लखनगाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामा माताको मन्दिरको आमनेसामने उत्तरमा पर्ने यस मन्दिरमा पूजाआजा गरे इच्छाएको पूरा हुने धार्मिक विश्वास छ। मनकामना माईको सात दिदीबहिनी थिए। तीमध्ये एक बहिनी इच्छाकामना रहेको किंवदन्ती रहेको मन्दिरका पुजारी हर्कबहादुर गुरुङले बताए ।
पुजारी गुरुङका अनुसार कहिलेबाट यहाँ इच्छाकामना देवीको पूजा गर्न थालिएको हो यकिन नभए पनि धेरै वर्षअघि उनका पुर्खाले गाईबाख्रा हराउन थालेपछि गोठालाले भेटेको मूर्तिमा पूजा गर्न शुरु गरेका थिए। त्यसपछि गाईबाख्रा हराउन छाड्यो। अन्य गाउँलेले पनि पूजाआजाको शुरुआत गरे। इच्छाकामना मन्दिर परिसरमा शिवालयको मन्दिर र गणेशको मूर्ति पनि स्थापना भएको छ।
प्रत्येक वर्ष पञ्चमीमा मेला
प्रत्येक वर्ष मङ्सिरको ठूली एकादशीपछि पञ्चमी तिथिमा इच्छाकामनामा ठूलो मेला लाग्ने गर्दछ। मेलामा राँगा, बोका, हाँसको अण्डा र कुखुराको बलि दिइन्छ । घण्ट र त्रिशूल पनि चढाउने गरिन्छ। मेलामा देशका विभिन्न स्थानबाट दर्शनार्थी आउने गर्दछन् । रातभर नाचगान र रमाइलो गरेपछि बिहान पूजाआजा गरिन्छ ।
इच्छाकामना मन्दिर समुद्री सतहदेखि एक हजार ८०० मिटरको उचाइमा रहेको छ । इच्छाकामनाको वरपर जङ्गलले ढाकेको छ । फागुन, चैतमा फुल्ने लालीगुराँसले वरिपरिको वातावरण रङ्गीन बन्छ । वनपाखा फूलले ढकमक्क हुन्छन् ।
इच्छाकामनाबाट सफा मौसममा हिमाली शृङ्खला मनास्लु, गणेश, माछापुच्छ्रेसम्म देख्न सकिन्छ । मोटरबाटो खुलेपछि पछिल्लो समय मनकामना आएका दर्शनार्थी इच्छाकामना पनि आउने गरेको पुजारी हर्कबहादुर गुरुङले बताए । मन्दिर दर्शन गर्न आउने दर्शनार्थी तथा पर्यटकको आवागमनमा वृद्धि हुँदै आएको स्थानीय होटल व्यवसायी ज्ञानबहादुर गुरुङ बताउँछन् । रासस
Facebook Comment