नेमकिपाको सातौँ महाधिवेशन शुक्रबारदेखि शुरु

डिसी नेपाल
२ असोज २०७६ १४:२२

काठमाडाैं। नेपाल मजदूर किसान पार्टीको सातौँ महाविधेशन भोलिबाट शुरु हुने भएको छ। नेमकिपाका सचिव प्रेम सुवालले आज विज्ञप्तिमार्फत भोलि शुक्रबार बिहान ११ बजेबाट नेमकिपाको तीन दिने महाधिवेशन शुरु हुने जानकारी दिए।

नेमकिपाका सचिव सुवालका अनुसार भक्तपुरको च्याहमासिंह, बोडे र काठमाडौँको कोटेश्वर गरी तीन ठाउँबाट एकैसाथ बाजागाजाका साथ ¥याली शुरु गरी भक्तपुर सल्लाघारी चौरमा नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले महाधिवेशनको उद्घाटन गर्ने भएका छन्।

नेपाल मजदूर किसान पार्टीले देशको सार्वभौमिकता रक्षा र प्रजातन्त्रको लागि स्थापनाकालदेखि नै साम्राज्यवाद र विस्तारवादविरुद्ध सङ्घर्ष गर्दै आएको बताउँदै सचिव सुवालले नेपालको किसान आन्दोलन र भ्रष्टाचारविरोधी आन्दोलनमा पार्टीले महत्वपूर्ण भूमिका खेलेको बताए।

उनले देशमा अहिले नेकपाको दुई तिहाइको सरकार भए पनि देशको खुला सिमानाका कारण सुरक्षित हुन नसकेको टिप्पणी गर्दै भारतले एकतर्फी रुपमा बनाएको बाँध र तटबन्धको कारण वर्सेनी तराई भूमि डुबानमा परिरहेको, हाल अहिले १३ खर्बभन्दा बढीको व्यापार घाटा रहेको, भ्रष्टाचार नियन्त्रण हुन नसकेको, महङ्गी बढ्दै गएको, ७० लाख नेपाली वैदेशिक रोजगारीमा जान बाध्य भएकोले यसको समस्याको समाधानका लागि नेमकिपाले आवाज उठाउँदै आइरहेको बताए।

यसअघि नेमकिपाको २०७० साल चैत २१ गते काठमाडौँको खुल्ला मञ्चमा छैठाैं महाधिवेशन गरिएको थियो। पार्टी स्थापनाकालदेखि हालसम्म नारायणमान बिजुक्छे पार्टीमा अध्यक्ष चयन हुँदै आउनुभएको छ । हाल २५ सदस्यीय केन्द्रीयसमिति रहेको नेमकिपामा साताैं महाधिवेशनले विधान संशोधनसहित विभिन्न दस्तावेज पारित गर्दै नयाँ कार्यसमिति निर्वाचित गर्ने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *