‘सप्तरंग २’ : सात कलाकारसंग फेरि झुम्नेछ सात प्रदेश
काठमाडौं। यसवर्ष फेरि सात प्रदेशका सात शहर सांगीतिक माहोलमा झुम्दैछ। सप्तरंग, सातवटा प्रदेशलाई संगीतको माध्यमवाट एकताको सूत्रमा बाध्ने सांगीतिक कार्यक्रम।
गतवर्ष पहिलो सिजनमा सात प्रदेशका सात शहर सांगीतिक माहोलमा झुमेका थिए। यसवर्ष त्यही कार्यक्रमले निरन्तरता पाउँदैछ। अर्थात ‘सप्तरंग २’ हुँदैछ।
आयोजक गृष्मा ब्रोर्डकास्टिङले नोभेम्बर दोस्रो साता अर्थात कात्तिक महिनाको अन्त्यबाट कार्यक्रम शुरु हुने जनाएको छ। त्यसका लागि कलाकारहरु चयन भईसकेको र अन्य तयारी पनि अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।
गतवर्ष रामकृष्ण ढकाल, पशुपति शर्मा, प्रमोद खरेल, इन्दिरा जोशी, सन्दीप क्षेत्री, दीपक विष्ट र अन्जली अधिकारी सामेल थिए। यसपालीको सूची फरक छ। दोस्रो संस्करणका लागि अभिनेता राजेश हमाल, गायक सुगम पोखरेल, गायिका मेलिना राई, हाँस्य कलाकार जितु नेपाल, गायक हिमाल सागर, प्रकाश सपुत र रवि ओडसँग सम्झौता भएको आयोजक संस्थाका प्रवन्ध निर्देशक गृहेन्द्र घिमिरेले जानकारी दिए।
उनले गतवर्ष दर्शकबाट पाएको रेस्पोन्सले यसवर्ष अझ राम्रो र ब्यवस्थित तरिकाले कार्यक्रम गर्न लागिएको जानकारी दिए।
अघिल्लो संस्करणमा सद्भाव र ऐक्यबद्धतामा जोड दिएको कार्यक्रमले यसपाली पर्यटन प्रवर्द्धनमा जोड दिनेछ।
पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा आयोजनाको तयारी गरिएको कार्यक्रमको माध्यमबाट पर्यटकीय स्थानको प्रवर्धन र सम्भावनाको खोजी गरिने आयोजकको भनाई छ।
त्यस्तै संगीत र मनोरञ्जनका साथ स्थानिय कला संस्कृतिलाई उजागर गर्ने लक्ष्य पनि आयोजकको छ। कार्यक्रम कुन–कुन शहरमा हुने भन्नेबारे पत्रकार सम्मेलनमार्फत जानकारी गराउने जनाईएको छ।
Facebook Comment