नेपालगञ्जमा तरुण दलका नेतामाथि खुकुरी प्रहार

डिसी नेपाल
२ असोज २०७६ २०:३५

काठमाडौं। बाँकेको नेपालगञ्जमा बुधबार राती नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलका दुईजना नेतामाथि खुकुरी प्रहार भएको छ। तरुण दल बाँकेले बिहीबार विज्ञप्ति जारी गर्दै तरुण दल नेपालगञ्जका सभापति सन्दीपजंग शाहीमाथि नेकपा निकटले खुकुरी प्रहार गरेको जनाएको छ।

तरुण दलका अनुसार सभापति शाहीमाथि खुकुरी प्रहार हुँदा उनलाई जोगाउन खोज्दा घमण्ड खड्का र अमर रोकाय घाइते भएका छन्। गम्भीर घाइते भएका खड्कालाई उपचारका लागि लखनउ लगिएको छ।

यो घटना केही दिनअघि खजुरा गाउँपालिकामा नेपाली काँग्रेसको कार्यक्रममा नेकपाबाट विजयी वडा अध्यक्ष सुमन मल्ललगायतले विथोलेको प्रकरणसँग जोडिएको छ।

वडा अध्यक्ष सुमन मल्लविरुद्ध प्रदर्शन गरेको भन्दै तरुण दलका नगर सभापतिमाथि आक्रमण गरिएको तरुण दल बाँकेले जनाएको छ। खजुरामा काँग्रेसको जागरण अभियानको कार्यक्रममा नेकपाका कार्यकर्ताहरुले हातपात गरेका थिए। सो क्रममा नेपाली काँग्रेस बाँकेकी सभापति किरण कोइरालाको हात भाँचिएको थियो। यो प्रकरणले संसदसमेत अवरोध भइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *