दोस्रो दक्षिण एशियाली युवा सम्मेलन बङ्गलादेशमा सम्पन्न

डिसी नेपाल
२ असोज २०७६ २२:१९

काठमाडौं । युवाको क्षेत्रमा विभिन्न देशमा क्रियाशील व्यक्तित्वहरुलाई यहाँ आयोजित एक कार्यक्रममा ‘साउथ एशियन युथ लिडरसीप अवार्ड–२०१९’ प्रदान गरिएको छ।

‘ग्लोबल युथ पार्लियामेण्ट’ र ‘ग्लोबल ल थिङकर सोसाइटी’द्वारा ढाकामा आयोजित उक्त सम्मेलनमा बङ्गलादेशका स्वतन्त्रता तथा द्वन्द्व मामिलामन्त्री एकेयम मोजाम्मेल हकले नेपालसहित भारत, भुटान, श्रीलङ्का, पाकिस्तान, अमेरिकालगायत मुलुकका युवालाई सो अवार्ड प्रदान गरे।

नेपालको तर्फबाट नेपाल बार एशोसिएशनका पूर्वकोषाध्यक्ष मोहन इङनाम, दलित महिला उत्थान सङ्घ नेपाल (एड्वान) का महासचिव विन्दु परियार, कर्णाली टेलिभिजनका अध्यक्ष डम्बर साहु, देशान्तर साप्ताहिकका सम्पादक विष्णुप्रसाद देवकोटा, त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक देवीप्रसाद अधिकारी, जनचेतना विकास समाज नेपालका कार्यक्रम संयोजक नगेन्द्रप्रसाद भट्ट र बालगृह महासङ्घ नेपालका अध्यक्ष दुर्गादेवी मैनालीले सो अवार्ड प्राप्त गरे।

त्यसैगरी नेपाल मेगा कलेजका सामाजिक कार्य विभाग प्रमुख सविन लामिछाने, पर्यटन व्यवसायी रामप्रसाद सापकोटा, नेत्रहीन युवा सङ्घ नेपाल, काठमाडौँ उपत्यका शाखाका उपाध्यक्ष निरबहादुर श्रेष्ठ, नयाँ छोरी उद्यमशील नेपालका कोषाध्यक्ष रेनु (रञ्जु) ढुङ्गेल, पर्यटन व्यवसायी नानुकाजी अर्याल, उद्यमी अनुप सुनुवार, टुकी नेपालका उपाध्यक्ष निर्मला धमला, राष्ट्रि«य समाचार समिति ९रासस०का सुशील दर्नाललगायत विभिन्न देशका ३३ युवालाई सो अवार्ड प्रदान गरिएको हो।

ग्लोबल ल थिङकर सोसाइटीले ग्लोबल युथ पार्लियामेण्टका अध्यक्ष दिवाकर अर्याललाई ग्लोबल चेन्ज मेकर अवार्ड प्रदान गरेको छ। क्षेत्रीय एकतालाई थप बलियो बनाउँदै युवाको सामूहिक नेतृत्व विकासका लागि अनुभव र अवसर आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको दुई दिने सम्मेलन आज सम्पन्न भएको छ।

सम्मेलनमा दक्षिण एशियाली मुलुकबाट करीब ३०० युवाको सहभागिता थियो। सम्मेलनमा दक्षिण एशियाली मुलुकमा रहेर विभिन्न विधामा सक्रिय रहेका युवालाई सम्मान गरिनुका साथै युवाको नेतृत्व विकास, दिगो विकास, व्यावसायिक नेतृत्व, पर्यटन, शिक्षा, स्वास्थ्य, न्याय र प्रविधिलगायत विषयमा बृहत् छलफल गरिएको थियो।

पहिलो दक्षिण एशियाली युवा सम्मेलन सन् २०१७ मा काठमाडौँमा भएको थियो। तेस्रो सम्मेलन सन् २०२० मा श्रीलङ्कामा हुने छ।

युवाको नेतृत्व विकास गर्ने उद्देश्यले सन् २०११ मा स्थापना गरिएको ग्लोबल युथ पार्लियामेण्टको उत्तर कोरिया, क्यानाडा, ब्राजिल, बेलायत र इटलीलगायत विभिन्न ४३ देशमा शाखा स्थापना गरिएको छ।

ग्लोबल युथ पार्लियामेण्टले ‘युवा सार्क सम्मेलन’, ‘ग्लोबल युथ पिस कन्फरेन्स’, ‘एशियन युथ एसेम्बली’ र ‘ग्लोबल युथ लिडरसीप समिट’लगायत युवाको क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ।

बङ्गलादेशका स्वतन्त्रता तथा द्वन्द्व मामिलामन्त्री हकले दोस्रो दक्षिण एशियाली युवा सम्मेलन बङ्गलादेशमा आयोजना गरिएकामा खुशी व्यक्त गरे। उनले क्षेत्रीय विकास र एकताका लागि युवा एकीकृत हुँदै अगाडि बढ्नुपर्नेमा जोड दिए। त्यसका लागि बङ्गलादेशले सधैँ सहयोगी भूमिका निर्वाह गर्ने उनको भनाइ थियो।

युथ पार्लियामेण्टका अध्यक्ष दिवाकर अर्यालले दक्षिण एशियाली युवाको सामूहिक वृद्धि विकासका लागि बलियो क्षेत्रीय एकता आवश्यक रहेको र त्यसका लागि यो सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे।

सोसाइटीका अध्यक्ष राओमन स्मिताले दिगो विकासको लक्ष्य प्राप्तिका साथै दक्षिण एशियाली मुलुकको क्षेत्रीय एकता, विकास, साझेदारी समुन्नतिका लागि युवाको सामूहिक एकता, सहभागिता र सहकार्य अपरिहार्य रहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *