म्यानचेस्टेर सिटीद्वारा गोल वर्षा

डिसी नेपाल
४ असोज २०७६ २२:२९

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले वाट्फोर्डलाई ८–० गोलको फराकिलो अन्तरले हराएको हो ।

घरेलु मैदानमा सिटीको जितमा बेर्नार्डो सिल्भाले ह्याट्रिक गरे । यस्तै डेभिड सिल्भा, सर्जियो अग्युरो, रियाद महरेज, निकोलस ओटामेन्डी र केभिन डी ब्रुएनले एक एक गोल गरे ।

इदिहाद स्टेडियममा सिटीले पहिलो हाफमै ५ गोल गरेको थियो । खेलको पहिलो मिनेटमा डेभिड सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

सातौं मिनेटमा अग्युरोले पेनाल्टीमा गोल गर्दै सिटीको अग्रता २–० को बनाए । १२ औं मिनेटमा महरेजले गोल गर्दा सिटी ३–० ले अघि रह्यो । १५ औं मिनेटमा बेर्नार्डोले गोल गर्दै सिटीको अग्रता ४–० को बनाए । खेलको १८ औं मिनेटमा ओटामेन्डीले गोल गर्दा सिटी पहिलो हाफमा ५–० ले अघि रह्यो ।

दोस्रो हाफमा सिटीले गोलको लय कायम राख्यो । ४९ औं मिनेटमा बेर्नार्डोले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ६–० को अग्रता दिलाए । ६० औं मिनेटमा बेर्नार्डोले तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दा सिटीको अग्रता ७–० को पुग्यो । त्यसपछि खेलको ८५ औं मिनेटमा ब्रुएनले गोल गर्दै सिटीलाई ८–० को जित दिलाए ।

जितसँगै सिटीले लिग लिडर लिभरपुलसँगको अंक दुरी घटाएको छ । दोस्रो स्थानको सिटीले ६ खेलमा १३ अंक जोडेको छ । एक खेल कम खेलेको लिभरपुलको १५ अंक छ ।

वाट्फोर्डको २ अंक छ । वाट्फोर्ड तालिकाको पुछारमा रहेको छ ।

यस्तै अर्को खेलमा एभर्टनलाई सेफिल्ड युनाइटेडले २–० ले हराएको छ । बर्नलीले नर्विच सिटीलाई २० ले नै हराएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *