फेरि चम्किए लेवान्डोस्की, वायर्नको शानदार जित
एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा साविक विजेता वायर्न म्युनिखले सहज जित निकालेको छ । शनिबार भएको खेलमा वायर्नले १० खेलाडीमा सिमित एफसी कोल्नलाई ४–० ले हराएको हो ।
घरेलु मैदानमा वायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे । यस्तै फिलिपे कौटिन्हो र इभान पेरिसिचले एक एक गोल गरे । एलिनाज एरिनामा खेलको तेस्रो मिनेटमा लेवान्डोस्कीले गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए । खेलको ४८ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दा वायर्न २–० ले अघि रह्यो ।
खेलको ५९ औं मिनेटमा किङ्सले रातो कार्ड पाउँदा पाहुना टोली कोल्न १० खेलाडीमा समेटिएको थियो । ६२ औं मिनेटमा कौटिन्होले पेनाल्टीमा गोल गर्दै वायर्नलाई ३–० को अग्रता दिलाए । त्यसपछि खेलको ७३ औं मिनेटमा पेरिसिचले गोल गर्दै वायर्नलाई ४–० को जित दिलाए ।
जितसँगै वायर्न लिगको दोस्रो स्थानमा उक्लिएको छ । वायर्नले ५ खेलबाट ११ अंक जोडेको छ । कोल्नको ५ खेलबाट ३ अंक रहेको छ ।
Facebook Comment