साफ यू–१८ : भुटानसँग हारले नेपाललाई सेमिफाइनल प्रवेश गर्न कठिन
काठमाडौं । तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ । आइतबार भएको खेलमा साविक विजेता नेपाल भुटानसँग ३–० गोल अन्तरले पराजित भएको हो ।
हल्चोकस्थित एपीएफ मैदानमा पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा दुई गोल खाएको थियो । बल पोजिसनमा पकड जमाए पनि नेपालले खेलको ४१ औं मिनेटमा गोल खाएको थियो । नेपाली डिफेन्डरले बल क्लियर गर्न नसक्दा भुटानका यशी दोर्जीले गोल गरेका थिए ।
दोस्रो हाफको ८६ औं मिनेटमा भुटानले अग्रता दोब्बर बनाए । नेपालका विशाल बस्नेतले डिबक्स भित्र भुटानका खेलाडीलाई लडाएपछि पाएको पेनाल्टीमा भुटानका केल्जिङ जिग्मीले गोल गरे । त्यसपछि खेलको इन्जुरी समयमा गोल गर्दै भुटानले ३–० को जित निकाल्यो ।
हारसँगै समूह ए मा रहेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । अब नेपालको सेमिफाइनल यात्रा भुटान र माल्दिभ्सबीचको खेलले तय गर्नेछ ।
उक्त खेलमा भुटानले माल्दिभ्सलाई फराकिलो अन्तरले पराजित गरे नेपाल सेमिफाइनल पुग्ने छ । बराबरी र भुटान पराजित भए नेपाल समूह चरणबाट बाहिरिने छ ।
नेपालले पहिलो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको थियो ।
Facebook Comment