भुटानसँग हारेपछि प्रशिक्षक श्रेष्ठले के भने?

डिसी नेपाल
५ असोज २०७६ १९:५९

काठमाडौं । नेपाली यू–१८ फुटबल टिममा मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले पाएको मौका सदुपयोग गर्न नसक्दा यू–१८ साफ च्याम्पियनसिपको दोस्रो खेलमा भुटानसँग हार व्यहोर्नु परेको बताएका छन् ।

एपीएफको हलचोक मैदानमा आइतबार नेपालले भुटानसँग ३–० गोलको लजास्पद हार व्यहोरेको थियो । हारपछि पोष्ट म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक श्रेष्ठले खेलाडीले सिकाए अनुसारको प्रदर्शन गर्न नसकेको बताए ।

सुरुमा पाएको राम्रो मौकाहरु गुमाउदा गार्हो भयो । पानीले गर्दा पनि खेलाडीले खेल्न सकेनन्,’ प्रशिक्षक श्रेष्ठले भने, ‘मैले सिकाएको अनुसार खेलाडीले देखाउँन सकेनन् । खेलाडी र दुवैको दोष हो यो ।’

पहिलो हाफमा १–० ले पछि परेको नेपालले भुटानसँग दोस्रो हाफमा २ गोल खाएको थियो । हारसँगै समूह ए मा रहेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । नेपालले २ खेलमा १ अंक जोडेको छ ।

अब नेपालको सेमिफाइनल यात्रा भुटान र माल्दिभ्सबीचको खेलले तय गर्नेछ । उक्त खेलमा भुटानले माल्दिभ्सलाई ४–० को फराकिलो अन्तरले पराजित गरे नेपाल सेमिफाइनल पुग्ने छ । बराबरी र भुटान पराजित भए नेपाल समूह चरणबाट बाहिरिने छ ।

प्रशिक्षक श्रेष्ठले नेपालको सेमिफाइनल सम्भावना बाँकी रहेको भएपनि गणितीय सम्भावनामा आश नगरेको बताए ।

यस्तै श्रेष्ठले भुटानले उत्कृष्ट खेलेको र भुटानलाई कमजोर मान्न नहुने बताए । ‘भुटान अहिले सम्म कमजोरी थियो, अब साउथ एसियामा कमजोरी कुनै टिम छ भन्ने हुन्न । भुटानले राम्रो गर्यो । फिजिकलमा भुटान बलियो रहेछ,’ श्रेष्ठले थपे, ‘भुटान अहिलेसम्म कमजोर थियो, अब साउथ एसियामा कुनै टिम कमजोर छैन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *