पोखरामा असोज १० बाट मिनीसडक महोत्सव हुने

पोखरा। विश्व पर्यटन दिवसका अवसरमा असोज १० गते ‘रेष्टुराँ एण्ड बार एशोसिएशन’ (रेवान)ले मिनी सडक महोत्सवको आयोजना गर्ने भएको छ।
प्रत्येक वर्ष विश्वभरि २७ सेप्टेम्बरमा मनाइने सो दिवसको अवसरमा ‘पर्यटन र रोजगार सबैका लागि राम्रो भविष्य’ भन्ने मूल नारालाई आत्मसात् गर्दै यस वर्ष पनि विभिन्न कार्यक्रमका साथ यहाँ सो दिवस मनाउन लागिएको हो।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउने उद्देश्यले पर्यटन दिवसको उपलक्ष्यमा फिस्टेलगेटदेखि बाराहीचोकसम्म लेकसाइडमा बेलुका ५ः०० बजेबाट राति अबेरसम्म एकदिने महोत्सव गरिने मिनी सडक महोत्सवका संयोजक सूर्यबहादुर भुजेलले बताए ।
महोत्सवको मुख्य आकर्षणअन्तर्गत सडकमै विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय खानाको परिकार, नेपालका विभिन्न जातीय र धार्मिक संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम, साहसिक खेलकूद तथा पर्यटकीय आकर्षण वृतचित्रको प्रदर्शनी, लाइभ व्याण्ड, पञ्चेबाजाका साथै गन्दर्भ गायन र सडकमै मनोरञ्जनात्मक कार्यक्रम गरिने आयोजकले जनाएको छ।
पर्यटन प्रवद्र्धनमा सूचना प्रविधि र सञ्चारको क्षेत्रमा भएको अभूतपूर्व विकासको माध्यमबाट नेपालमा रहेको सम्पदालाई विश्वसामु प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गरी आय र रोजगारीका अवसरमा अभिवृद्धि गर्ने प्रचुर सम्भावना रहेकोले सो अवसरलाई सदुपयोग गरिने बताइएको छ। रासस
Facebook Comment