तराई, मधेश समृद्धि कार्यक्रमका लागि ३ करोड विनियोजन

डिसी नेपाल
६ असोज २०७६ ९:०८

सुरुङ्गा । सङ्घीय सरकारले बिर्तामोड र अर्जुनधारा नगरपालिकामा रहेका विपन्न परिवारका लागि आवाससहितका कार्यक्रम सञ्चालन गर्न रु दुई करोड २५ लाख बजेट विनियोजन गरेको छ। सङ्घीय सरकारले झापा क्षेत्र नं २ मार्फत विपन्न आवास कार्यक्रमसहित अन्य विभिन्न सामाजिक कामका लागि रु दुई करोड २५ लाख बजेट विनियोजन गरेको सङ्घीय सांसद पवित्रा निरौला खरेलले जानकारी दिए ।

उनका अनुसार तराई, मधेश समृद्धि कार्यक्रमअन्तर्गत बिर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकासँग समन्वय गर्दै यहाँका विपन्न समुदायका लागि आवास निर्माण गरिने भएको छ भने बुद्धशान्ति गाउँपालिकामा सामुदायिक भवन, कनकाई नगरपालिकामा कोच राजवंशीको अधुरो सामुदायिक भवन निर्माणमा रकम खर्च गरिने भएको छ।

बिर्तामोड नगरपालिका ६, ७, ८ र ९ मा रहेका पछाडि परेका समुदाय र विपन्न परिवारका लागि सङ्घीय सरकारबाट रु ७५ लाख बजेट विनियोजन भएको छ भने अर्जुनधारा–३ मा रहेका विपन्न परिवारका लागि आवास निर्माण गर्न रु ६० लाख बजेट विनियोजन भएको छ।

विपन्न आवास कार्यक्रम सञ्चालनका लागि अर्जुनधारा नगरपालिकाले रु १५ लाख प्रदान गर्ने र बिर्तामोड नगरपालिकाले रु नौ लाख प्रदान गर्ने सहमति भएको बताइएको छ। अर्जुनधारा नगरपालिकामा विपन्न कार्यक्रम आवासका लागि चालू आर्थिक वर्षमा रु ७५ लाख र बिर्तामोड नगरपालिकामा रु ८४ लाख खर्च हुने बताइएको छ।

त्यस्तै बुद्धशान्ति गाउँपालिका–२ मा सामुदायिक भवन निर्माणका लागि केन्द्रीय अनुदान रु ३० लाख र स्थानीय तहबाट रु पाँच लाख गरी ३५ लाख बजेट प्राप्त भएको छ भने जगदिश्वर शिव पाञ्चायन मन्दिर बहुउपयोगी सामुदायिक भवन निर्माणका लागि सङ्घीय सरकारबाट रु ३० लाख बजेट विनियोजन भएको छ।

यो सामुदायिक भवन गाउँपालिकाको वडा नं २ मै रहेको छ । यसका लागि गाउँपालिकाले रु पाँच लाख थप बजेट प्रदान गर्ने बताइएको छ। यता कनकाई नगरपालिका–९मा रहेको कोच राजवंशी सामुदायिक भवन निर्माणका लागि सङ्घीय सरकारले रु ३० लाख बजेट विनियोजन गरेको र कनकाई नगरपालिकाले रु तीन लाख बजेट प्रदान गरेको प्रतिनिधिसभा सदस्य खरेलका स्वकीय सचिव लीला आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार तराई, मधेश समृद्धि कार्यक्रमका लागि सङ्घीय सरकारबाट रु दुई करोड २५ लाख, स्थानीय तहबाट रु ३७ लाख गरी दुई करोड ६२ लाख झापा क्षेत्र नं २ लाई मात्रै बजेट विनियोजन भएको हो। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *