पिएसजीको लगातार चौथो जीतमा नेइमारको निर्णायक गोल

डिसी नेपाल
६ असोज २०७६ ११:४३

काठमाडौँ । फ्रेन्च लिग वान अन्तगर्त पिएसजी विजयी भएको छ । गएराती सम्पन्न खेलमा पिएसजीले लियोनलाई १-० गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा ब्राजिलियन स्टार नेइमारले खेलको एक मात्र गोल गरेका हुन् । नेइमारले खेलको ८७औ मिनेटमा गोल गर्दै पिएसजीलाई जित दिलाएका हुन् ।

नेइमारले यस अघि स्ट्रासबर्गविरुद्ध पनि निर्णायक गोल गर्दै पिएसजीलाई जिताएका थिए भने लगातार दोस्रो पटक पिएसजीको जितमा निर्णायक गोल गरेका छन् । क्लब छोड्ने विवादमा फसेका कारण सुरुका खेल गुमाएका नेइमारले अन्तत: पिएसजीबाटै खेल्नु पर्ने अवस्था आएपछि अघिल्लो साताबाट पिएसजीका लागि खेल्न शुरु गरेका थिए ।

पिएसजी अहिले आफ्ना प्रमुख खेलाडी किलीयन एम्बाप्पे, एडिसन कभानी र माउरो इकार्डी पूर्णरुपमा फिट नहुदा समस्यामा रहेको छ । यद्यपी प्रमुख खेलाडी बिना पनि गत साता च्याम्पियन्स लिगमा रियल मड्रिड विरुद्ध र लिग वानका खेलमा जित हासिल गरिरहेको छ ।

यो जितसँगै पिएसजी ६ खेलमा १५ अंक हासिल गर्दै शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै एंगर एससीओ र नीस १२-१२ अंकका साथ दोस्रो र तेस्रो स्थानमा रहेका छन् । लियोन भने ६ खेलमा केवल ८ अंक बटुलेर नवौ स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *