चिनियाँ नेताहरुबाट सी विचारधारा सिक्दै नेकपाका नेताहरु

डिसी नेपाल
६ असोज २०७६ १७:२५

काठमाडौं। तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि बनेको नेकपा (नेकपा) हाल सत्तामा छ। नाम कम्युनिष्ट राखिएपनि यो पार्टीको कार्यदिशा के हुने भन्नेमा विवाद छ। तत्कालीन एमाले पक्ष जनताको बहुदलीय जनवादको पक्षमा छ माओवादी पक्ष यसलाई स्वीकार गर्न नसकिने
अवस्थामा छ। नेकपामा एक कसिमको राजनीतिक कार्यदिशाबारे गतिरोध चलिरहेकाबेला चिनियाँ राष्ट्रपति सी जिनपिङको विचार धाराबारे नेकपामा बहस भइरहेको छ।

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण हुन लागेकै बेला उनको विचार धाराबारे नेकपामा बहसमात्र भएको छैन, नेकपाको स्कूल विभागले यही विषयमा नेता तथा कार्यकर्ताहरुलाई दीक्षित पनि गर्दै छ। नेकपाले आफ्नो कार्यदिशा सी विचार बनाउने तयारीका साथ यो विषय प्रवेश गराएको अनुमान गरिएको छ।
सोमबार राजधानी काठमाडौंमा नेकपा स्कूल विभागको कार्यशाला शुरु भएको छ। दुई दिने कार्यशालामा सहभागी हुन ठूलो संख्यामा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु पनि काठमाडौं आएका छन्। चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग र स्कूल विभागका प्रतिनिधिहरु काठमाडौं आएका छन्। नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीको सँयुक्त आयोजनामा सो कार्यशाला राखिएको नेकपा स्रोतले बताएको छ। कार्यशालामा करिब २०० नेकपाका नेता तथा कार्यकर्ताहरु सहभागी छन्।

नेकपानिकट स्रोतहरूका अनुसार उक्त द्विदिवसीय कार्यक्रममा चिनियाँ राष्ट्रपति सीको विचारधाराबारे छलफल गरिने र उत्तरी छिमेकले लागु गरेका नीति तथा तिनको बलमा प्राप्त उपलब्धिबारे एक किसिमको राजनीतिक प्रशिक्षण दिइनेछ। तसर्थ उक्त कार्यक्रमको विशेष महत्त्व भएको उनीहरू बताउँछन्।

कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका मन्त्री सोन थावले प्रमुख वक्ताका रूपमा मन्तव्य राख्नेछन्। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको छ।

दाहालले नेपालमा कम्युनिस्ट आन्दोलन र उपलब्धि आदि विषयमा धारणा राख्नेछन् भने ओलीले कम्युनिस्ट पार्टीको नेतृत्वमा नेपालको विकासको खाकाबारे चर्चा गर्नेछन्।

कार्यक्रममा चीनका राष्ट्रपति सी जिन्पिङले प्रतिपादन गरेको विचारधाराबारे गहन छलफल हुने पार्टीनिकट स्रोतहरूको भनाइ छ।चिनियाँ कम्युनिस्ट पार्टीको पछिल्लो महाधिवेशनले सीको विचारधारा ‘निर्यात’ गर्ने निर्णय गरेपछि चीनले राजनीतिक विचारधाराबारे छलफल तीव्र बनाएको छ।

केही वर्षअघि चिनियाँ कम्युनिस्ट पार्टीको विधानमा सीको नामसहित उनको विचारधारा समावेश गरिएको थियो। केही दशकयता राजनीतिक विषयमा प्रायः मौन रहेर आर्थिक विषयमा केन्द्रित चीनमा त्यसबाट पर्ने प्रभावबारे विश्वभरि उत्सुकतापूर्वक हेरिराखिएको विश्लेषकहरू बताउँछन्।

कार्यक्रममा कम्युनिस्ट पार्टीमा अनुशासनको अवस्था, पार्टीमा विकृति नियन्त्रण र बेल्ट एन्ड रोड इनिशिअटिभ लगायतका विषयवस्तुमा अन्तर्क्रिया हुनेछ। कार्यक्रममा चिनियाँ प्रतिनिधिहरूले कार्यपत्र प्रस्तु्त गर्नेछन्।

नेपाली र चिनियाँ कम्युनिस्ट पार्टीहरूले आआफ्ना विचारबारे छलफल गर्न लागेको यो पहिलो कार्यक्रम भने होइन। चीनले प्रत्येक वर्ष आफ्ना मुलुकमा राजनीतिक तथा वैचारिक विषयमा अन्तर्क्रिया गर्छ। तर यसपालि भने चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका लागि वातावरण बनाउन काठमाडौंमा कार्यक्रम आयोजना गरिएको अनुमान भैरहेको छ।

करिब दुई वर्षअघि सीको विचार पार्टी विधानमा उल्लेख भएलगत्तै नेपालका लागि तत्कालीन चिनियाँ राजदूत यु होङले काठमाडौंमा एउटा कार्यक्रमको आयोजना गरेर चीनले आफ्नो विचार प्रवर्धन गर्ने बताएकी थिइन्।

चीनले नयाँ विश्व परिदृश्य तयार पार्न खोजिरहेको सङ्केत प्रस्ट रूपमा गर्दै त्यसका लागि राजनीतिक विचारको महत्त्व रहेको भन्ने भाव उनले व्यक्त गरेकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *