सीपीएलमा बार्बाडोस पराजित, अन्तिम खेलमा सन्दिपको उत्कृष्ट प्रदर्शन

डिसी नेपाल
७ असोज २०७६ ८:२०

काठमाडौं । वेष्ट इण्डिजमा जारी घरेलु लिग क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम बार्बाडोस ट्रिडेन्टले परािजत भएको छ। मंगलबार बिहान भएको खेलमा बार्बाडोस जमैका ताल्लावाहसँग मात्र ५ रनले पराजित भएको हो।

ब्रिजटाउनमा भएको खेलमा जमैकाले दिएको १२८ रनको लक्ष्य पछ्याएको बार्बाडोसले २० ओभरमा १२२ रन बनायो। बार्बाडोसका जोनशन चार्ल्सले ३१ रन बनाए भने रेमन रिफरले २६ रन बनाए। ताल्लावाहका समर स्प्रिंगर र इमरान खानले ३–३ विकेट लिए। यस्तै ड्वेन स्मिथले २ विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा अलआउट हुँदै १२७ रन बनाएको थियो। जमैकाका लागि ग्लेन फिलिप्सले ४१ रन बनाए । यस्तै रामेल लेविसले २७ रन जोडे । जमैकाविरुद्ध सन्दीपले किफायती बलिङ गरे । ४ ओभरमा १७ रन खर्चेर सन्दीपले २ विकेट लिए । योसँगै सन्दीपले यस सिजन ६ खेलमा ८ विकेट हात पार्न सफल भएका छन् ।

सन्दीपको यस खेल अन्तिम खेल हुनेछ । यस खेलपछि सन्दीप राष्ट्रिय टिममा सामेल हुन सिंगापुर आउने छन् । यस्तै बार्बाडोसका जेसन होल्डर र रेमोन रिफरले पनि २–२ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *