एनआरएनको अध्यक्षमा कुल आचार्यले औपचारिक उम्मेदवारी घोषणा गर्दै
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा उपाध्यक्ष कुल आचार्यले आज मंगलबार औपचारिक उम्मेदवारी घोषणा गर्दै छन्।आचार्यले आज मंगलबार (२४ सेप्टेम्बर) मा लन्डनमा एक कार्यक्रमकाबीच एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्ने भएका हुन् ।
आचार्यले ९ सुत्रीय एजेन्डासहित उम्मेदवारी घोषणा गर्ने तयारी गरिरहेको कुल आचार्य समूहका एक सल्लाहकारले जानकारी दिएका छन्। ‘अध्यक्ष पदमा उम्मेदवारी दिने विषयमा औपचारिक घोषणा कर्मभूमि लण्डनबाट गरिँदै छ,’ आचार्यलाई उदृधत गर्दै सल्लाहकारले भने, ‘तर, उहाँको प्रतिवद्धतापत्र कर्मभूमिबाट जारी गरिने छ।’ आचार्यले काठमाडौंमा अर्को साता एक कार्यक्रमको आयोजना गरी विस्तृत प्रतिवद्धता पत्र जारी गर्ने छन्।
के–के छन् एजेन्डा ?
एनआरएनएको आगामी सम्मेलन एजेन्डाविहीन भएको टिप्पणी भइरहेको समयमा आचार्यले स्पष्ट दृष्टिकोणका साथ ९ सुत्रीय एजेन्डा अघि सार्न लागेका छन् । नेपालको आर्थिक विकास र समृद्धिमा विशेष योजदान गर्ने दृष्टिकोणसहितको नीति र कार्ययोजना प्रस्तुत गरिने आचार्यको तयारी छ। ‘मातृभूमिको समृद्धिको राष्ट्रिय अभियानसँग विश्वभरि रहेका नेपालीहरुलाई जोड्नु छ, त्यसैले हामीले नेपालको विकास र नेपाली मूल्य-मान्यता, भाषा र संस्कृतिको प्रवद्र्धनका लागि विशेष योगदान गर्ने घडी आएको छ,’ आचार्यले भने।
संविधानको मर्म अनुसार गैरआवासीय नागरिकता जारी गर्न निर्णायक पहल गर्ने प्रतिवद्धता आचार्यले व्यक्त गरेका छन्। उनले एक पटकका नेपाली सधैँका नेपाली भन्ने भावनालाई प्रतिनिधित्व गर्दै नागरिकताको विषयलाई टुंग्याइनुपर्ने बताए। आचार्यले वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन एनआरएनएमार्फत आफु लाग्ने प्रण गरेका छन्। साथै गैरआवासीय नेपाली संघको संस्थागत सुधार गरी केन्द्रीय सचिवालयलाई प्रभावकारी र कार्यमूलक बनाउने एजेन्डा पनि आचार्यले अघि सारेका छन्।
‘गैरआवासीय नेपालीहरुको बारेमा जानकारी संकलन गर्ने, कुनै समस्या भएमा तत्काल एक्सनमा जाने र त्यसको समाधान गर्ने तथा केन्द्रीय सचिवालयलाई अझै प्रभावकारी बनाउनै पर्छ,’ उनले भने, ‘मैले यस विषयमा विस्तृत कार्यक्रम निर्माण गरेको छु ।’ यसैबीच, गैरआवासीय नेपाली संघको विश्व सम्मेलन नजिकिएपछि पूर्व केन्द्रीय अध्यक्षहरुले पनि सक्रियता बढाएका छन्। पूर्वअध्यक्ष शेष घले लन्डन पुगेर गैरआवासीय नेपाली संघको आगामी नेतृत्वको विषयमा अध्यक्षका प्रत्यासी कुल आचार्यसँग गम्भीर छलफल गरी रणनीति बनाएको बेलायतस्थित एनआरएनए उच्च स्रोतले बताएको छ।
अब एनआरएनएको नेतृत्वमा दूरगामी सोच बोकेको व्यक्तिलाई नै पु-याउनु आवश्यक भएको भन्दै लोकतन्त्रवादी उम्मेदवार आचार्यलाई सहयोग गर्न घलेले आफु निकटहरूलाई निर्देशन दिएको बताइएको छ । अध्यक्षका प्रत्यासी आचार्यले घलेका साथै पूर्वअध्यक्ष देवमान हिराचन र वतर्मान अध्यक्ष भवन भट्टसँग पनि आगामी विश्व सम्मेलनमा कसरी जाने भन्ने विषयमा निरन्तर छलफल गरिरहेका छन् । ‘चुनावी रणनीति बनाउन हामी व्यस्त छौं, विश्वभरिका गैरआवासीय नेपालीहरुलाई समेट्ने गरी प्रतिवद्धता आउँदैछ, हामी अहिले निर्णायक चरणमा छौं,’ उपाध्यक्ष आचार्य निकट स्रोतले भन्यो।
Facebook Comment