उपनिर्वाचनमा एकताबद्ध हुन कार्यकर्तालाई निर्देशन

डिसी नेपाल
७ असोज २०७६ २०:१४

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कास्की निर्वाचन क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा पार्टीको उम्मेवारलाई विजयी गराउन कार्यकर्तालाई निर्देशन दिएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले चुनावमा दुई कम्युनिष्ट पार्टी एक भएको सन्देशलाई प्रमाणित गर्ने गरी एकताबद्ध भई क्रियाशील हुनुपर्ने बताए।

कम्युनिष्ट नेता एवं तत्कालीन संस्कृति, पर्यटन तथा उड्डयनमन्त्री रवीन्द्र अधिकारीको असामयिक निधनका कारण यो क्षेत्र रिक्त बनेको उल्लेख गर्दै उनले स्वर्गीय अधिकारीका अधुरा सपना पूरा गर्न पनि निर्वाचनमा पार्टीको उम्मेदवारलाई विजयी गराउन अपरिहार्य भएको बताए।

पार्टीको केन्द्रीय सदस्यसमेत रहेका मन्त्री पण्डितले निर्वाचन आचारसंहिता दशैँपछि मात्र लाग्ने बताउँदै छुट्टीको अवसरलाई पनि भरपुर उपयोग गर्न कार्यकर्तालाई आग्रह गरे।

वर्तमान सरकारले नयाँ प्रणालीअनुसार जिम्मेवारी लिएको उल्लेख गर्दै उनले स्थानीय तहमा आवश्यक प्राविधिक कर्मचारी भर्ना अन्तिम चारणमा पुगेको र सङ्घ तथा प्रदेशमा पनि निकट भविष्यमा नयाँ कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाइने जानकारी दिए।

विकास निर्माणका काम देखिन समय लाग्ने बताउँदै उनले जनताका इच्छा र आकाङ्क्षा पूरा गर्न सरकार प्रतिबद्ध भएको बताए।

नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा सचिव बखान सिंह तमुले पार्टीका गतिविधिमाथि प्रकाश पाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *