कांग्रेसको जागरण अभियान : ‘केही नहुनु भन्दा यति भए पनि राम्राे’

डिसी नेपाल
८ असोज २०७६ ७:३६

काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान मंगलबार सकिएको छ। सरकारका गलत कामको खबरदारी र संगठन सदृढिकरणलाई मुख्य लक्ष्म बनाएर भदौ २५ गते सुरु गरिएको जागरण अभियान मंगलबार समाप्त भएपनि जागरण अभियान प्रभावकारी हुन नसकेको नेताहरुले बताएका छन्।

विभिन्न गुट र उपगुटमा रुमल्लिएको कांग्रेसका नेताहरुले जागरण अभियानमा सरकार विरुद्ध खबरदारी गर्नु भन्दा पनि आफ्नै नेताको विरोध गर्न सक्रिय देखिए। पार्टीभित्रको आन्तरिक विवाद नसुल्झ्याइ आयोजना गरिने यस्ता कार्यक्रम प्रभावकारी नहुने कांग्रेस नेताहरुकै भनाइ छ। विशेष गरी प्रभावशाली भ्रातृ संस्थाहरुमा भने एकपछि अर्को विवाद चुलिन थालेपछि जागरण अभियान कार्यक्रम प्रभावकारी नभएको हो।

कांग्रेसको सशक्त मानिएको तरुण विवादको भूमरीमा फसेको छ। अध्यक्ष जीतजंग बस्नेत र महासचिव भूपेन्द्रजंग शाही दुवैले एकअर्कालाई विज्ञप्तिमार्फत दलको साधारण सदस्यसमेत नरहने गरी पदबाट हटाएको विज्ञप्ति सार्वजनिक गरेपछि संगठन भित्रको विवाद छताछुल्ल देखिएको हो।

तरुण दलको वर्तमान केन्द्रीय समिति तीनवर्षे कार्यकालका लागि विसं २०७३ कात्तिक २७ देखि २९ गतेसम्म पोखरामा सम्पन्न चौथो महाधिवेशनबाट सर्वसम्मत चयन भएको थियो।

विभिन्न गुट र उपगुटमा रुमल्लिएको कांग्रेसका नेताहरुले जागरण अभियानमा सरकार विरुद्ध खबरदारी गर्नु भन्दा पनि आफ्नै नेताको विरोध गर्न सक्रिय देखिए। पार्टीभित्रको आन्तरिक विवाद नसुल्झ्याइ आयोजना गरिने यस्ता कार्यक्रम प्रभावकारी नहुने कांग्रेस नेताहरुकै भनाइ छ।

महाधिवेशनले अध्यक्षमा जीतजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भुपेन्द्रजंग शाही र कोषाध्यक्षमा विद्वान गुरुङलाई सर्वसम्मत चयन गरेको थियो। पन्चानब्बे सदस्यीय केन्द्रीय समितिले त्यसयता हालसम्म पनि पूर्णता पाउन सकेको छैन।

अर्काे प्रभावशाली भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेवि संघ) अहिले नेतृत्वविहीन अवस्थामा छ। संघको ११औँ महाधिवेशनबाट निर्वा्चित अध्यक्ष नैनसिंह महर नेतृत्वको कार्यसमितिको समयावधि समाप्त भएपछि सात महीनादेखि केन्द्रीय समिति रिक्त छ। सङ्घको ११औँ महाधिवेशन विसं २०७३ साउनमा सम्पन्न भएको थियो । अध्यक्ष महरले विसं २०७५ माघ २८ मा पदबाट राजीनामा दिएका थिए।

विसं २०२७ वैशाख ७ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेका बेला स्थापना भएको संघमा अहिलेको अवस्थासम्म आइपुग्दा १८ जनाले नेतृत्व सम्हाल्ने मौका प्राप्त गरिसकेका छन्। कांग्रसको यही भदौ १७ गतेको केन्द्रीय समिति बैठकले म्याद समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थालाई छ महीनाभित्र महाअधिवेशन गर्न निर्देशन दिइसकेको छ।

कांग्रेसमा हाल नेपाल महिला संघ, नेपाल तरूण दल, नेपाल विद्यार्थी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, मुस्लिम संघ नेपाल, नेपाल तामाङ संघ, नेपाल राष्ट्रिय मगर संघ, नेपाल ठाकुर समाज गरी १३ भ्रातृ संस्था छन्।

त्यसमध्ये नेवि संघ, प्रजातन्त्र सेनानी संघ, किसान संघ, दलित संघ, आदिवासी जनजाति संघ, लोकतान्त्रिक अपांग संघ, तामाङ संघ, ठाकुर समाजको समयमै महाअधिवेशन हुन नसकेर केन्द्रीय समितिको म्याद समाप्त भइसकेको पार्टी कार्यालयले जनाएको छ।

यसरी भातृ संगठन नेतृत्व विहीन र आन्तरिक विवादमा रुमल्एिका बेला गरिएको जागरण अभियान प्रभावकारी हुन नसकेको हो।
यद्यपी दोस्रो चरणको जागरण अभियान समापनका क्रममा कांग्रेसले ७७ वटै जिल्लामा खबरदारी र विरोध सभाको आयोजना गरेको थियो।

विरोध प्रदर्शन मूलत बढ्दो महँगी, भ्रष्टाचार (वाइडबडी, न्यारो वडी प्रकरणलगायत), महिला हिंसा, बलात्कार र हत्या, संविधानको भावना प्रतिकूल भनिएका विधेयकविरुद्धका मुद्दामा केन्द्रित रहेको थियो।

जागरण अभियानको यसअघिका १४ दिनमा ३३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित विभिन्न कार्यक्रम गरिएको थियो। जसअनुसार अभियानको उद्घाटनको दिन भदौ २५ गते जननायक बिपी कोइरालाको १०६औँ जन्मजयन्तीको प्रतीकस्वरुप प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रको निश्चितस्थलमा १०६ बिरुवा वृक्षरोपण गरिएको थियो। पार्टी संगठन सुदृढीकरण, समसामयिक राजनीति, जनजीविकाका सवाल, सुशासनलगायत विभिन्न १५ उद्देश्य राखेर अभियान सञ्चालन गरिएकोे थियो।

यसअघि कांग्रेसले ७७ वटै जिल्लामा गत वैशाख २५ देखि जेठ २५ गतेसम्म अभियानको प्रथम चरण सम्पन्न गरेको थियो भने अभियानको तेस्रो चरण आगामी पुस ७ गते प्रारम्भ भएर पुस १६ गते मेलमिलाप दिवसमा समापन हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *