कृषि विकास बैंकबाट डेढ करोड ह्याकिङमा बैंककै कर्मचारीको पासवर्डको प्रयोग !

डिसी नेपाल
८ असोज २०७६ १०:२०

काठमाडौं । कृषि विकास बैंकको सिस्टम ह्याक गरी डेढ करोड रुपैयाँ ट्रान्सफर गरिएको घटनामा बैंककै कर्मचारीको पासवर्ड प्रयोग भएको पाइएको छ । बैंकको सिस्टमभित्र छिरेर अनलाइन विधिबाट रकम ट्रान्सफर गर्न बैंककै कर्मचारीको पासवर्ड प्रयोग भएको पाइएको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए ।

ह्याकिङमा जुन कर्मचारीको पासवर्ड प्रयोग भएको छ ती लगायत अन्य कर्मचारीको समेत संलग्नता भएको आशंका गरिएको छ । प्रहरीले ह्याकिङमा संलग्न भएको आशंकामा केहीलाई नियन्त्रणमा समेत लिएको छ । तर, अनुसन्धान भर्खरै सुरु भएको भन्दै पक्राउ परेकाहरुको पहिचान खुलाइएको छैन । प्रारम्भिक अनुसन्धानमा १ करोड ५६ लाख रुपैयाँ निकालिएको बुझिएको छ ।

राष्ट्र बैंकका प्रवक्ता निरौलाका अनुसार यस पटक ह्याकिङमा फरक तरिका अपनाइएको छ । नेपालमा यसअघि स्वीफ्ट ह्याक गरेर विदेशबाट रकम निकालिएको थियो । स्वीफ्ट भनेको कुनै पनि बैंकको अन्तर्राष्ट्रिय आइटेन्टिटी हो । त्यसपछि चिनियाँ ह्याकरहरुले एटिएमको सिस्टम ह्याक गरेर रकम निकालेका थिए । निरौलाले यस पटकको ह्याकिङ फरक तरिकाको भएको बताए पनि कस्तो तरिका हो भन्ने खुलाएनन् ।

प्राप्त जानकारीअनुसार ह्याकरहरुले बैंकको ब्यालेन्स सीट नै तल–माथि बनाएका छन् । बैंकको ब्यालेन्स सिटमा रहक डेबिड गरी केही व्यक्तिको खातामा रकम क्रेडिट गरेर ट्रान्सफर गरिएको छ । बैंकमा केही नयाँ खाता पनि खोलेको पाइएको छ । सिराहाको लहान र कैलालीको धनगढीका बैंकका शाखाहरुको रकम डेबिट गरिएको छ र केन्द्रीय कार्यालय काठमाडौंमा रहेका व्यक्तिका खातामा रकम क्रेडिट गरी ट्रान्सफर गरिएको छ ।

ह्याकिङमा बैंककै कर्मचारीको संलग्नता रहेको आशंकामा सोहि दिशामा अनुसन्धान अगाडि बढाइएको छ । विभिन्न ठाउँबाट घटनामा संलग्न भएको आशंकामा ११ जना पक्राउ परेको जानकारी आए पनि अनुसन्धान जारी रहेको भन्दै प्रहरीले यसको पुष्टि गरेको छैन । बैंक स्रोतले भने ह्याकिङमा कर्मचारीकै संलग्नता देखिएको जानकारी दिएको छ । ह्याकिङमा बैंककै कम्प्युटर प्रयोग गरेको समेत देखिएको र बैंकको अनलाइन सिस्टमबारे जानकारी भएको व्यक्तिले नै यस्तो गर्न सक्ने आधारमा बैंककै कर्मचारीको संलग्नता भएको आशंका गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *