मेस्सीले ‘वर्ष खेलाडी अवार्ड’ जितेपछि मेस्सीलाई भोट नदिएका रोनाल्डोले के भने ?
काठमाडौं। फुटबलको सर्वोच्च संस्था फिफाले प्रदान गर्ने फिफा वर्ष खेलाडीको अवार्ड बार्सिलोनाका लियोनेल मेस्सीले जिते । मनोनयनको अन्तिम ३ मा रहेका क्रिस्टियानो रोनाल्डो र भर्जिल भान डाइकलाई पछि पार्दै मेस्सीले यो अवार्ड जितेका हुन् । मेसीले कुल ४६ अंक पाउँदै शीर्ष स्थानमा रहेर बेस्ट खेलाडीको अवार्ड जिते । भान डाइकले ३८ अंक पाए भने रोनाल्डोले ३६ अंक पाएका थिए ।
अन्तिम मनोनयनमा परेका तीनै जना आ–आफ्नो देशको कप्तान भएकोले उनीहरुले बेस्ट खेलाडीको लागि भोट गर्न पाउँथे । भान डाइकले मेस्सीलाई भोट दिएका थिए चने मेस्सीले पनि रोनाल्डोलाई भोट दिएका थिए । तर, रोनाल्डोले मेस्सी र भान डाइक दुवैलाई भोट दिएका थिएनन् । यस्तोमा मेस्सीले अवाडी जितेपछि रोनाल्डोको प्रतिक्रियालाई चासोका साथ हेरिएको छ । रोनाल्डोले यस विषयमा इन्स्टाग्राममार्फत प्रतिक्रिया दिएका छन् ।
रोनाल्डोले इन्स्टाग्राममा लेखेका छन् –‘धैर्य र दृढता दुई विशेषताहरु हुन् जसले एक पेशेवरलाई सिकारुभन्दा फरक बनाउँछ । आज जे ठूलो छ त्यो सबै सानो हुन लागेको छ । तपाइँ सबथोक गर्न सक्नुहुन्न तर आफ्नो सपना पूरा गर्नको लागि आफूले सक्ने सबथोक गर्नुस् । अनि ख्याल गर्नुस् कि रातपछि सधैं बिहानी आउँछ ।’
बेस्ट खेलाडीको मतदानमा पोर्चुगलका कप्तानको रुपमा भोट दिएका रोनाल्डोले मेसीलाई भोट नदिएकोमा उनको सामाजिक संजालमा आलोचना भइरहेको छ । रोनाल्डोले आफ्नो पहिलो भोट म्याथिज डी लिग्टलाई दिएका छन् भने दोस्रो भोट फ्रेंकी डी जोंग र तेस्रो भोट किलियन एम्बाप्पेलाई दिएका थिए । मेसीले भने आफ्नो पहिलो भोट साडियो मानेलाई दिएका थिए भने दोस्रो रोनाल्डो र तेस्रो भोट फ्रेंकी डि जोंगलाई दिएका थिए ।
Facebook Comment